
भोजपुर, ११ असार ।
भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठका पाँच वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एक रुपता ल्याउने लक्ष्यले वडाले चार सय ३८ विद्यार्थीलाई पोसाक (ट्रयाक सुट), जुत्ता र भेष्ट वितरण गरेको हो ।
विद्यार्थीको पठनपाठनमा सहजतासँगै वडाका विद्यालयहरु बीच एक रुपता ल्याउने लक्ष्यले यो आर्थिक वर्षमा चार सय ३८ जना विद्यार्थीलाई पोसाक वितरण गरिएको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । पोसाकका कारण विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यको लागि वडाले आवश्यक बजेट विनियोजन गरेर पोसाक वितरण गरेको उहाँको भनाइ छ ।
“हुन त हामीसँग वडास्तरमा आएको बजेट थोरै नै हुन्छ”वडाध्यक्ष आचार्यले भन्नुभयो,“शिक्षित समाजको पहिलो आधार नै शिक्षा हो । शिक्षालाई सुधार गर्न सके मात्र समुन्नत समाज बन्न सक्छ । विद्यार्थीलाई पोसाकको कारण असहज नहोस् भन्नको लागि यहाँका सवै विद्यालयमा पोसाक वितरणको कार्यक्रम सञ्चालन गरेका हौँ ।”
वडाले शैक्षिक सुधारको लागि अन्य विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । वडाले विद्यालयहरुको भौतिक पूर्वाधारको विकासकासमेत लागि आवश्यक सहयोग गरिरहेको वडाध्यक्ष आचर्यको भनाइ छ ।






















