
भोजपुर १० असार । रामप्रसादराई गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभा मार्फत आर्थिक २०८/ २८३ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले चालु तथा पुँजीगत गरी कुल ४६ करोड ८१ लाख ९४ हजार ४०७ बराबरको बजेट पेश गर्नुभयो । बजेट निति तथा कार्यक्रम छलफल पछि सर्वसहमतिबाट पास भएको छ । गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पर्यटनलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरिएको छ ।
किसानहरुलाई कृषीमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ कृषि उत्पादनमा जोड दिने कार्यक्रम सञ्चालनको नीति लिएको छ । शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै सवै वडालाई गाउँपालिका केन्द्रसँग सहज रुपमा जोड्न यहाँको सडकहरुको विकासलाई प्राथमिकतामा राखेको छ । वजेट तथा कार्यक्रममा लक्षित समूहतर्फ आदिवासि जनजाति, अपाङ्गता, जेष्ठ नागरिक, दलित, महिला तथा बालबालिका लाई पनि समेटिएको जनाईको छ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष थाम बहादुर राई (निर्माण)ले यहाँका नागरिकको आवश्यकता र गाउँपालिकाको प्राथमिकतालाई ध्यानमा राख्दै बजेट, नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो । उपलब्ध भएको सिमित बजेटको अधिकतम सदुपयोग गर्ने उद्धेश्यका साथ आगामी आर्थिक वर्षको लागि बजेट नीति तथा कार्यक्रम बनाइएको अध्यक्ष राईको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटमा शिक्षा र पूर्वाधार विकासमा जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय आङलाक्पा तामाङले जानकारी दिनुभयो ।























