
भोजपुर, ९ असार ।पौवादुङमा गाउँपालिकाको १७ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । सभा मार्फत आर्थिक २०८२/०८३ नीति तथा कार्यक्रम पेश गरिएको छ । गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु र पुँजीगत गरी कुल ४० करोड ६७ लाख ६१ हजार आठ सय ७९ बराबर बजेट पेश गर्नुभयो ।

गाउँसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि र पशुपालन कार्यक्रमलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरिएको छ । फुसको छानो हटाउने, तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट सडक कालोपत्रको, प्रशासनिक भवन निर्माणको लागि समेत बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । त्यस्तै पालिकाले कृषि एम्बुलेन्स सञ्चालन, कृषक साझेदारी कार्यक्रम, पालिकाले खुर्सानी खेती विकास कार्यक्रम, तोरी खेती कार्यक्रम, उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम अन्तरगत गाई पालन, दुग्ध विकास कार्यक्रमलाईसमेत निरन्तरता दिने उहाँकाे भनाइ छ ।हालसम्म गाउँपालिकाले चालु र पूजीगत गरी समग्रमा ७० दशमलव ९६ प्रतिशत वजेट खर्च भएको उहाँले बताउनुभयो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष किरण राईले यहाँको जनताको आवश्यकता र गाउँपालिकाको प्राथमिकतालाई ध्यानमा राख्दै बजेट, नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो । केन्द्र सरकारबाट आउने बजेट बर्षेनी घट्दै जाने समस्याको कारण जनताको इच्छा आकाङ्क्षा समेट्न स्थानीय सरकारलाई समस्या हुने गरेको बताउनुभयो । उपलब्ध भएको बजेटको अधिकतम सदुपयोग गर्ने उद्धेश्यका साथ आगामी आर्थिक वर्षको लागि बजेट नीति तथा कार्यक्रम बनाइएको अध्यक्ष राईको भनाइ छ ।
‘गाउँसभाबाट सीमित बजेटको बीचमा पनि जनअपेक्षित कामका लागि बजेट विनियोजन गरेका छौँ’अध्यक्ष राईले भन्नुभयो,‘वडा जाने बजेटलाई सवै वडामा समानुपातिक तवरले वितरण गरेका छौँ । खास गरेर केहि गाउँपालिकाका गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौँ ।’ गाउँपालिकाले जेष्ठ नागरिक घरदैलो कार्यक्रम, युनाइटेड वल्ड स्कुल नेपालसँगको साझेदारीमा बालमैत्री पूर्वाधारसहितको विद्यालय निर्माण गरी सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ ।

यस अघि सञ्चालनमा रहेको रातो भाले कार्यक्रम, नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी बैठक असार २८ गते बस्ने गरि पहिलो बैठक सम्पन्न भएको छ ।
















