
युवराज विष्ट
भोजपुर, ८ असार ।
लोमा खोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो ।
वस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखीको पानीको समस्या हटेको षडानन्द १२ टारीगाउँका स्थानीयबासी मोहन तामाङले बताउनुभयो । एक गाग्री पानीको जोह गर्न रातको दुई बजेबाट धारामा पालोमा बस्नु पर्ने अवस्थामा घरमा धारा जडान भएपछि सहजता भएको तामाङको भनाइ छ ।
“हाम्रो टारी गाउँ क्षेत्रमा पानीको अतिनै समस्या थियो”उहाँले भन्नुभयो,“एक गाग्री पानी जोह गर्न राती दुई बजेबाट पालो बसेर ल्याउनु पर्ने अवस्था थियो । अहिले लोमा खोलाको पानी आएपछि सहजता छ । हामी एकदम खुसी छौँ ।”
घरमा नै एक घर एक धारा जडान भएपछि दैनिकी नै फेरिएको स्थानीय ८३ वर्षिय बृद्धा हिमादेवी कार्कीले बताउनुभयो । “म घरमा एक्लै छु” उहाँले भन्नुभयो,“दमको रोगी भएको कारण पानी लिन बाहिर जान सक्दिन । स्थानीयलाई पैसा दिएर दुई बोतल पानी ल्याउन लाएर दैनिकी चलाउदै आएकी थिए । मेरो लागि साह्रै पुण्यको काम गरिदिनुभयो । पानी ल्याउनेहरुलाई आर्शिवाद दिन्छु ।”
षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका एक हजार चार सय १६ घरमा पानी वितरण गर्ने लक्ष्यका साथ आयोजना सञ्चालन भईरहेको छ । दुई स्किममा सञ्चालन भइरहेको आयोजनालाई आगामी आर्थिक वर्ष भित्र पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
आयोजनाबाट तत्काललाई पानीको अति नै समस्या रहेका क्षेत्रमा पानी वितरण भईरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन विक्रम राईले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा पनि तीव्र गतिमा निर्माणको कार्य भईरहेकाले यो वर्ष नै एक हजार घर परिवारमा पानी वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष राईको भनाइ छ ।
“लोमा खोला आयोजनाको पानी बस्तीस्तरमा वितरण थालेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“सवै स्थानीयलाई चाडो पानी खुवाउने लक्ष्यका साथ काम गरिरहेका छौँ । यो आर्थिक वर्षमा एक हजार घर परिवारमा पानी वितरण गर्ने हाम्रो योजना छ ।”
आयोजनाको स्किम १ अन्तर्गत १२ वटा ट्याङ्की मध्ये नौदेखी ७५ घन मिटरसम्मका नौ वटा निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ । त्यस्तै दोश्रो स्किमको पाँच वटा नै वितरण ट्याङ्की निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । पहिलो ठूलो स्किम अन्तर्गत कमेरे, देउसे र दोश्रो स्किम कखुवा सिस्नेटार मुहानबाट पानी ल्याइएको छ ।
पानी मुहानमा पानी प्रशोधन संरचना नरहेकाले वर्षातको समयमा वालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको निर्माण उपभोक्ता समितिको भनाइ छ । साथै यहि क्षेत्रमा सडक विस्तार भईरहेकोले कामलाई चाडो बढाउन समस्या रहेको निर्माण समितिले जनाएको ।
हालसम्म आयोजनाको करिव ७५ प्रतिशत काम सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले जनाएको छ । श्रमदानसहित यो आयोजनाको अनुमानित कुल लागत रु. २८ करोड ५१ लाख रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले जानकारी दिनुभयो । आयोजनाको वितरण लाईन खन्ने र पुर्ने काम श्रमदानमार्फत गर्ने सम्झौता रहेको प्रमुख ठाकुरको भनाइ छ ।
“लोमा खोला आयोजनामार्फत पानी वितरण भइरहेको छ”प्रमुख ठाकुरले भन्नुभयो“हालसम्म यहाँको करिव ७५ प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनालाई आगामी वर्ष भित्रमा सम्पन्न गराउने कार्यालयको लक्ष्य छ ।” दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिव ४७ किलोमिटर र वितरण लाईन करिव एक सय ५३ किलोमिटर रहेको कार्यालयले जनाएको छ ।
निर्माणधिन खानेपानीबाट पहिलो चरणको पानी वितरण थालिएपछि स्थानीय नागरिकलाई सहजता भएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । यो खानेपानी आयोजनालाई समयमा सम्पन्न गराउन नगरको तर्फबाट आवश्यक भूमिका खेलिरहेको उहाँको भनाइ छ । यो योजनाको काम सम्पन्न भएपछि यहाँका पाँच वटा वडाका नागरिकलाई पानीको सुविधा पुग्ने उहाँको भनाइ छ ।




















