
भोजपुर, २ असार ।
मुन्दुम पदमार्गको प्रवद्र्धनको लागि भोजपुरमा सातौँ ‘मुन्दुम ट्रेल रेस’ २०२५ को आयोजना गरिएको छ । खेलकुद तथा दौडको मध्यमबाट पदमार्गको प्रचार प्रसारमा टेवा पु¥याउने लक्ष्यले रेसको आयोजना गरिएको हो ।
पर्यटकीय स्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमना तावाभञ्याङ र पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्कहुँदै चखेवासम्म प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
मुन्दुम ट्रेल रेस आगामी असार ७ गते २२ किलोमिटरमा सञ्चालन हुने आयोजक रिमाचुङ,एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो । प्रतियोगितामा नौ समुहको सहभागिता रहने आयोजकले जनाएको छ । एक समूहमा तीन महिला र तीन पुरुष गरी छ जनाको सहभागिता रहने छ । वर्षातको समयमा पनि यो पदमार्गको भ्रमणको लागि कुनै पनि समस्या नहुने सन्देश दिन यो समयमा पनि प्रतियोगिता सञ्चालन गरिएको उहाँको भनाइ छ ।
प्रतियोगितामा समुह तर्फ प्रथम हुनेले प्रमाण पत्रको साथमा नगद रुं ४० हजार, दितिय हुनेले नगद रु. ३० हजार र तृतिय हुने नगद रु. २० हजार पाउने छन् । त्यस्तै एकल प्रथम,दितिय र तृतिय हुनेले क्रमशः नगद रु. १५ हजार, दश हजार र पाँच हजार पाउने आयोजकले जनाएको छ ।
पदमार्गको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको रु. पाँच लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

















