
युवराज विष्ट
भोजपुर, २५ जेठ ।
भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका ८ खोक्सिकको वाक्चाखामा‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो ।
यो क्षेत्रको संरक्षण तथा विकास गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले रु.सात लाख लागतमा करिव आठ सय मिटर पदमार्ग निर्माण गरिएको रामप्रसादराई ८ का वडाध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो । यहाँ वडा र नेपाल जलबायु अनुकुलन कार्यक्रमको बजेटबाट पदमार्ग निर्माणको थालनी गरिएको वडाध्यक्ष राईको भनाइ छ । यो स्थानलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भईरहेको उहाँकले जानकारी दिनुभयो ।
“वाक्चाखामा जाल्पादेवी गुँरास पदमार्गको निर्माण गरिरहेका छौँ”वडाध्यक्ष राईले भन्नुभयो,“यहाँ पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण गरेका हौँ । यो क्षेत्र प्राकृति हिसाब निकै सुन्दर छ । यो क्षेत्रलाई यहाँको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ । ”
यो पदमार्गलाई विस्तार गरेर आमचोक गाउँपालिकामा रहेको ग्रेट मुन्दुम पदमार्गसम्म पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । पदमार्ग निर्माणको काम दुई खण्डमा भईरहेको वडाध्यक्ष राईको भनाइ छ । दोश्रो खण्ड अन्तर्गत भञ्याङ शंखेश्वरीमा पनि पदमार्ग निर्माण गरिएको छ । शंखेश्वरीमा निर्माण भईरहेको पदमार्गलाई पनि भावी दिनमा यो पदमार्गसँग जोड्ने सोच रहेको उहाँको भनाइ छ ।
यहाँ पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढ्ने स्थानीयबासी दिलकुमार जोगीले बताउनुभयो । यो क्षेत्रमा गुँरास राम्रो फुल्ने भएकाले आन्तरिक पर्यटकहरु आउने गरेको उहाँको भनाइ छ । यो पदमार्गको आसपासमा धेरै नै गुराँस पाईने उहाँले बताउनुभयो ।
“यो धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण हुन सकेको थिएन”उहाँले भन्नुभयो,“अहिले यहाँ पदमार्ग निर्माणको थालनी गरिएको छ । पदमार्ग निर्माण भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।यसले यहाँको विकासमा टेवा पुग्ने आशा लिएका छौँ ।”
वडाले यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि थालेको काम राम्रो रहेको स्थानीयबासी महेन्द्र राईले बताउनुभयो । यो क्षेत्रमा रहेको गुँरासहरुको संरक्षणको काम गरिरहेको उहाँको भनाइ छ ।“यो पदमार्गको मुख्य आकर्षण गुँरास हो” उहाँले भन्नुभयो,“हामीले यहाँको गुराँसको संरक्षण गरिरहेका छौँ । यहाँबाट विभिन्न हिमशृङ्खलाहरुको एक साथ अवलोकन गर्न सकिन्छ ।”



















