
युवराज विष्ट
भोजपुर, २१ जेठ ।
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोउन्नतीले स्थानीयबासीलाई सहजता भएको छ । यो सडक खण्डको बढी समस्या हुने स्थानमा पक्की ढलानसँगै सोलिङ गरिएपछि स्थानीयलाई सहजता भएको हो ।

भोजपुर नगरपालिका ६ देउरालीको पहलमा विगतमा हिलाम्य हुने स्थानमा स्तरोउन्नती गरिएको छ । वडा भित्रका बढी समस्या हुने क्षेत्रमा रु. एक करोड ७० लाख लागतमा तीन वटा खण्डमा स्तरोउन्नती गरिएको भोजपुर ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिनुभयो ।
यहाँ शहरी विकास तथा कार्यालय धनकुटाको रु.एक करोड, केन्द्र सरकारको रु. ६० लाख र प्रदेश सरकारबाट प्राप्त रु. दश लाख लागतमा पाँच सय मिटर ढलानसँगै नाली र भित्तामा पर्खाल लगाइएको उहाँले बताउनुभयो ।देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडकको कुल लम्बाई नौ किलोमिटर छ । सडकको अन्य क्षेत्रमा वडाको बजेटमा सोलिङ गरेर बाह्रै महिना यातायात सञ्चालन हुने बनाएको वडाध्यक्ष कार्कीको भनाइ छ ।
“देउराली–भङ्गेरी–पालुवा–सडक खण्डको स्तरोउन्नती गरेका छौँ”वडाध्यक्ष कार्कीले भन्नुभयो,“यो हाम्रो क्षेत्रको महत्वपूर्ण सडक हो । वडामा आएको बजेटले मात्र काम गर्न सम्भव नभएपछि अन्य क्षेत्रमा बजेट माग गरेर काम गर्न सफल भएका छौँ । सडक स्तरोउन्नतीले आवतजावतमा सहजता थपिएको छ ।”

भोजपुर सदरमुकामलाई रामप्रसादराई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकालाई जोड्ने सवै भन्दा छोटो सडक रहेकोले वडाले यो सडकको स्तरोउन्नतीमा जोड दिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । सीमित बजेटमा पनि अधिकतम उपयोग हुने तवरबाट योजनाहरु सञ्चालन गरिरहेको उहाँको भनाइ छ । वडा भित्र साना, ठुला गरी १७ वटा सडक रहेकोमा सवै सडकलाई स्तरोउन्नती गरिएकाले स्थानीय घरसम्म एम्बुलेन्स पुग्ने अवस्था रहेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
वर्षातमा हिलाम्य हुने सडकको विकासमा वडाले प्राथमिकताका साथ काम गरेपछि स्थानीयलाई सहजता भएको छ । सडक हिलाम्य हुँदा आवतजावतसँगै उत्पादित कृषि उपजको बजारीकरणमासमेत समस्या हुने गरेकोमा अहिले सजहता भएको स्थानीयबासी प्रदिप तामाङले बताउनुभयो । सडक स्तरोउन्न्ती भएपछि स्थानीयको दैनिकीमा सहजता थपिएको उहाँको भनाइ छ ।
“सडक व्यवस्थित नहुँदा हामीलाई आवतजावतमा धेरै समस्या थियो”उहाँले भन्नुभयो,“अहिले सडकको बढी समस्या हुने स्थानमा ढलान भएको छ । विगतमा वर्षातको समयमा यातायात सञ्चालनमा धेरै समस्या थियो । वडाको पहलमा सडक स्तरोउन्नती भएपछि सहजता भएको छ । अव भने बाह्रै महिना सवारी साधन चल्ने अवस्था बनेको छ ।”

स्थानीयको समस्यालाई ध्यानमा राख्दै वडाले हिलाम्य हुने सडकलाई ढलान तथा ग्रावेल गरेर बाह्रै महिना सञ्चालन आउने गरी स्तरोन्नती गरेपछि दैनिकीमा परिवर्तत आएको स्थानीयबासी कमल तामाङले बताउनुभयो । सडकले गाउँघरको जीवनशैलीमा सहजता थपिएको उहाँको भनाइ छ ।
“सडकको विकास गरिएपछि हामीमा उत्साह बढेको छ”उहाँले भन्नुभयो,“ हाम्रो क्षेत्रका मुख्य सडकहरुमा आवत जावतमा समस्या छैन । वडाले थालेको योजनाबद्ध विकास प्रति हामी खुसी छौँ ।”



















