
भोजपुर, ९ जेठ ।
भोजपुरको टेम्केमैयुङ ६ कोटमा प्रसूति भवन निर्माणको गरिएको छ । सामान्य प्रसुति गराउनसमेत घण्टौँ लगाएर स्टेचर तथा डोकोमा बोकेर भोजपुर सदरमुकाम जानु पर्ने बाध्यतामा रहेका स्थानीय गाउँमा नै सुविधा थपिने भएपछि उत्साहित भएका छन् ।
यहाँ वडा कार्यालयको पहलमा रु. २५ लाख लागतमा प्रशुति भवन निर्माण गरिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिनुभयो । संघीयता कार्यान्वयनसँगै साविकको एक वडालाई फुटाएर दुई वटा वडा बनाइएकाले यहाँ कुनै पनि संरचना नभएको कारण स्थानीयलाई समस्या रहेकोले सहज स्वास्थ्य सेवा विस्तारको लागि प्रशुति भवन निर्माण गरिएको उहाँको भनाइ छ ।
“स्थानीयबासीलाई सहज स्वास्थ्य सेवा पु¥याउन प्रशुति भवन निर्माण गरेका हौँ”वडाध्यक्ष नेपालले भन्नुभयो,“वडा विभाजनपछि यहाँ स्वास्थ्य सेवा लिन कठिनाइ छ । स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर प्रशुति भवन निर्माणको पहल थालेका हौँ ।”भवनबाट सेवा शुरु भएपछि यहाँका गरिव तथा विपन्न परिवारलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ ।
भवन बनेपछि प्रसुति सेवा लिनको लागि घण्टौँ लगाएर स्टेचर तथा डोकोमा बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता हट्ने स्थानीयबासी तथा वडासदस्य प्रेमकुमारी श्रेष्ठले बताउनुभयो । वषौँपछि गाउँमा नै सुरक्षित प्रसुति सेवा लिने वातावरण बन्ने भएपछि खुसी लागेको उहाँको भनाइ छ ।
“गाउँमा नै प्रसुति निर्माणले भवनले उत्साहित भएका छौँ” उहाँले भन्नुभयो,“गाउँमा सुरक्षित प्रसुति गराउने ठाउँ नहुँदा धेरै समस्या थियो । यातायातको साधन नचलेको अवस्थामा डोको तथा स्टेचरमा बोकेर सदरमुकामसम्म लैजानु पर्ने बाध्यता थियो ।”
हिउँदको समयमा यातायात सेवा सञ्चालन भएपनि वर्षात याममा भने यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या रहेको स्थानीयबासी विशाल राईले बताउनुभयो । आफ्नै ठाउँमा प्रशुति भवन निर्माणले उत्साह थपिएको राईको भनाइ छ । भवनलाई सुरक्षा प्रदान गर्नको लागि घेराबारासँगै पहिरोबाट बचाउन पर्खाल लगाउनु पर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
जिल्लाका दुर्गम क्षेत्रका नागरिकले समयमा सहज प्रसुति सेवा नपाउँदा ज्यान गुमाउनु परेको दुखद अवस्था रहेको उहाँको भनाइ छ ।
नागरिकको आधारभूत आवश्यकताका रुपमा रहेको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा राज्य गम्भिर बन्न आवश्यक स्थानीयबासीले बताउने गरेका छन् ।