
भोजपुर, ३० चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणको लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजहरुको सहज बजारीकरणको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । उत्पादित बस्तुलाई सहज रुपमा बाहिरी जिल्लाका बजारसम्म पु¥याउन कृषि एम्बुलेन्सले सहजता थप्ने उहाँको भनाइ छ ।
“गाउँपालिकाले कृषिमा जोड दिएको छ”अध्यक्ष राईले भन्नुभयो,“किसानहरुले व्यावसायिक रुपमा विभिन्न नगदेबालीहरुको खेती गरिरहेका छन् । यहाँ उत्पादन भएका सम्पूर्ण कृषि उपजको सहज बजारीकरणको लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ ।”
गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायत अन्य विभिन्न नगदेबालीको खेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।
धेरै किसानहरु व्यावसायिक रुपमा कृषिमा लागेकाले यहाँ उत्पादन भएका बस्तुको बजारीकरणमा टेवा पु¥याउनेले लक्ष्यले गाउँपालिकाले आफ्नै कृषि एम्बुलेन्स सञ्चालन ल्याएको उहाँको भनाइ छ । व्यावसायिक रुपमा कृषिमा लागेको किसानलाई थप प्रोत्साहन गर्न सात सय बढी किसानलाई कृषि सामग्री वितरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो ।























