
भोजपुर, ३० चैत । कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले भोजपुरको पौवादुङमा गाउँपालिकामा निर्माणधीन च्याङ्ग्रे स्वास्थ्य चौकी तथा प्रशुति भवनको अनुगमन गर्नु भएको छ । बजेट अभावमा अधुरो अवस्थामा रहेको भवनको पूर्णताको लागि चालु आवमा कोशी प्रदेश सरकारले रु. ५५ लाख बजेट विनियोजन गरेको उहाँले अनुगमनका क्रममा जानकारी दिनुभयो ।
सरकार परिर्वतन पश्चात प्राथमिकतामा नपर्दा भोजपुरमा अलपत्र तथा अधुरो अवस्थामा रहेका योजनाहरुको अनुगमन गरेर कोशी प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गरिरहेको उहाँको भनाइ छ ।
“जिल्लामा धेरै महत्वपूर्ण योजनाहरु सरकार परिवर्तनको चपेटामा पर्दा अलपत्र बनेका छन्”राज्यमन्त्री राईले भन्नुभयो,“अलपत्र अवस्थामा रहेका योजनाको स्थलगत अनुगमन गरेर कोशी पदेश सरकारले बजेटको व्यवस्था गरिरहेको छ । ती योजनाहरुलाई पूर्णता दिन हामी लागि परेका छौँ ।”
आर्थिक वर्ष २०७७/७८ बाट निर्माण शुरु भएको भवन बजेटमा अभावमा अधुरो रहेको छ । भवनको पूर्णता दिन कोशी प्रदेश सरकारले पहल गर्ने राज्यमन्त्री राईको भनाइ छ ।
भवनको जग बसाएर, विम र पिलर उठाएकोले अव सम्पन्न गराउनको लागि रु. दुई करोड ५० लाख बजेट आवश्यक रहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।























