
भोजपुर १६ चैत्त । भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका आर्थिकरुपले विपन्न युवा,युवतीलाई निजामति सेवामा लाग्न सहजता थप्ने उद्धेश्यले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको हो । निःशुल्क तयारी कक्षाको शनिवार (आज) गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले उद्घाटन गर्नु भएको हो । पछिल्लो समय युवा, युवतीहरुमा विदेशप्रतिको मोह बढेकाले त्यसलाई घटाएर सरकारी सेवामा लाग्न प्रोत्साहन थप्ने लक्ष्यले कक्षा सञ्चालन गरिएको गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत कर्ण कुमार लिम्वुले जानकारी दिनुभयो ।

युवाहरुमा सिकाई उपलब्धि बढाउदै, मेहनती, प्रतिस्पर्धी र इमान्दार नागरिकका रुपमा स्थापित गराउने लक्ष्यले लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई बताउनुभयो । युवा, युवतीहरुमा पढाईपछि विदेश जाने प्रबृति बढेकाले त्यसलाई न्यूनिकरण गर्दै सरकारी सेवामा लाग्न हौसलासँगै सहजता थप्ने लक्ष्यले लोक सेवा पूर्व तयारी कक्षा सञ्चालन गरिएको अध्यक्ष राईको भनाइ छ ।

एक महिना सम्म सञ्चचालन हुने तयारी कक्षामा ३० जनाको सहभागिता रहेको छ । स्थानीयलाई सरकारी सेवा प्रवेश गर्न सहजता थप्ने लक्ष्यले विगतका बर्षहरुमा पनि लाेक सेवा तथा शिक्षा सेवा तयारी कक्षा सञ्चालन गर्दै आएकाे गाउँपालिकाले जनाएकाे छ। लोक सेवा आयोगमा यहाँका क्षेत्रका युवाहरुको पहुँच र सहभागिता बढाउन गाउँपालिकाले तयारी कक्षा सञ्चालन गरेको गाउँपालिकाकाे भनाइ छ ।
गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गरेपछि युवा,युवतीहरु खुसी भएका छन् । कक्षा सञ्चालनले लोक सेवा तयारीका लागि शहरका अन्य ठाउँमा धेरै खर्च गरेर जानुपर्ने बाध्यता हटेको सहभागिले बताएका छन् ।






















