
भोजपुर, २७ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको सानोदुम्मा माध्यमिक विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । विद्यार्थीहरुलाई समय सापक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई–लर्निङ सेन्टर स्थापना गरिएको हो ।
इश्वर मन्दिर काठमाण्डौँ अभियानले विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । इश्वर मन्दिरले २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी र एक थान वाईफाई सेट वितरण गरेर यहाँ सेन्टर सञ्चालनमा ल्याएको हो । विद्यालयमा रु.आठ लाख बराबरको सामग्री वितरण गरेर सेन्टर सञ्चालनमा ल्याइएको इश्वर मन्दिर काठमाण्डौँका महासचिव संकेत कोइरालाले जानकारी दिनुभयो ।
ई–लर्निङ सेन्टर स्थापनाले विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढकालले बताउनुभयो । आवश्यकताका आधारमा विद्यालय समय र विद्यालय भन्दा अन्य समयमा पनि समूह निर्माण गरेर प्राविधिमैत्री शिक्षण गराइने उहाँले जानकारी दिनुभयो ।
“हाम्रो विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गर्न सफल भएका छौँ” उहाँले भन्नुभयो,“सेन्टर स्थापनाले विद्यार्थीहरुलाई समय सापक्ष प्रविधिमैत्री शिक्षण गराउन सहज भएको छ । अव हामीले प्रविधिमैत्री शिक्षणमा जोड दिन्छौँ ।” सवै विद्यार्थीहरुलाई प्रविधि सम्बन्धि ज्ञान प्रदान गर्न समूह निर्माण गरेर शिक्षणमा जोड दिइने उहाँको भनाइ छ ।
सेन्टर स्थापना कार्यक्रम बोल्दै पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्रविधिमैत्री शिक्षणमा जोड दिइएको बताउनुभयो । समाज सुधारको पहिलो आधार शिक्षा रहेकाले जीवन उपयोगि शिक्षणमा गाउँपालिकाले योजनावद्ध रुपमा काम गरिहेको अध्यक्ष राईको भनाइ छ ।
“हामीले सामुदायिक विद्यालयको गुणस्तर सुधारसँगै प्रविधिमैत्री शिक्षणमा जोड दिएका छौँ”अध्यक्ष राईले भन्नुभयो,“गाउँपालिकासँगै विभिन्न निकायसँगको सहकार्यमा भौतिक निर्माणसँगै आधुनिक शिक्षा प्रणालीमा लगानी गरिरहेका छौँ । शिक्षाले नै समुन्नत समाज निर्माणमा सहयोग गर्ने भएकाले हामीले शिक्षाको क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेका छौँ ।” गाउँपालिका भित्र रहेका ३२ वटै सामुदायिक विद्यालयमा व्यवस्थित पुस्ताकालयसँगै प्रविधिमैत्री वनाउन गाउँपालिकाले ध्यान दिएकोे अध्यक्ष राईले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सामुदायिक विद्यालयको गुणस्तर सुधारसँगै समय सापक्ष प्रविधिमैत्री सिकाईमा जोड दिइएको बताउनुभयो । नागरिकका धेरै आवश्यकता भएपनि गाउँपालिकामा आएको बजेटले मात्र सवै आवश्यकता पुरा गर्न नसक्ने अवस्था रहेकाले विभिन्न पक्षसँग सहकार्य गरेर कामलाई अघि बढाउदै आएको उहाँको भनाइ छ ।
सामुदायिक विद्यालयमको शैक्षिक गुणस्तर सुधारका गतिवधि गरिरहेको वडाध्यक्ष बोमप्रसाद राईले बताउनुभयो । विद्यार्थीलाई पोषाक वितरणसँगै खेलकुद प्रतियोगतालगायतका कार्यक्रम सञ्चालन भईरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकार नरबहादुर थापाले अहिलेको जमना आइटीको रहेकोले प्रविधिमैत्री शिक्षणमा जोड दिन आवश्यक रहेको बताउनुभयो । जडान गरिएका सामग्रीको संरक्षणसँगै सहि सदुयोगमा ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो ।
पछिल्लो समय विज्ञान र प्रविधिले फड्को मारेकाले शिक्षण पद्धतीलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले बताउनुभयो । डिजिटल प्रविधिको शिक्षण सिकाईमा सहयोग पु¥याउने उद्धेश्यले इश्वर मन्दिर काठमाण्डौँ अभियानले विद्यालयहरुमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
“आजको युग विज्ञान र प्रविधिको युग हो”पूर्व अर्थमन्त्री कोईरालाले भन्नुभयो,“हामीले पनि शिक्षालाई समय सापक्ष अघि बढाउन आवश्यक छ । दुरदराजमा रहेका विद्यालयलाई प्रविधिसँग जोड्न हामीले अभियान सञ्चालन गरेर आवश्यक प्रोत्साहन गरिरहेका छौँ ।” इश्वर मन्दिर काठमाण्डौँ अभियान २०५६ सालमा स्थापना गरेर आवश्यक प्रोत्साहन तथा सहयोगका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।
विद्यालय व्यावस्थापन समिति अध्यक्ष विनोद कुमार राईको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख पूर्व अर्थमन्त्री तथा इश्वर मन्दिर काठमाण्डौँ अभियानका संरक्षण शंखर कोइराला र विषेश अथिति पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई रहुन भएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई, प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिम्सिना, पौवादुङमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराई, इश्वर मन्दिर काठमाण्डौँ अभियानका महासचिव शंकेत कोइराला, कोषध्यक्ष गुणा कोइराला, भोजपुर सेवा समाज काठमाण्डौँका अध्यक्ष पासाङ शेर्पा, पौवादुङमा ५ का वडाध्यक्ष बोम प्रसाद राई, पौवादुङमा ६ का वडाध्यक्ष दक्ष कुमार राई, वडा नं ३ का वडाध्यक्ष तीर्थ कुमार कार्की, वडासदस्यक्षहरु, शिक्षक विद्यार्थी तथा स्थानीयलगायतको सहभागिता रहेको थियो ।