
भोजपुर, १९ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयबासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले स्थापना भएको यो देवस्थलको प्रचार प्रसारसँगै संरक्षणमा स्थानीयबासी जुटेका हुन् ।
स्थानीय युवाहरुको सकृयतामा यो मन्दिरको संरक्षण भईरहेको छ । स्थानीयबासीले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेराबारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै स्थानीयहरुबाट श्रमदान गरेर मन्दिरको संरक्षण गरिरहेको टेम्केमैयुङ ५ का गजलेका स्थानीयबासी रमेश विष्टले बताउनुभयो । अहिले वडाबाट प्राप्त रु. दुई लाख र श्रमदानमार्फत रु. ५० हजार गरी करिव रु. दुई लाख ५० हजार बजेटबाट मन्दिरमा बाह्र मिटर चौडाई, २० मिटर लम्बाई र डेढ मिटर उचाई बराबरको घेराबारा गर्ने काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
“सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा जुटेका छौँ” उहाँले भन्नुभयो,“मन्दिरमा घेराबारा नहुँदा पशुचौपाया पस्ने तथा मन्दिरको असुरक्षा बढेकोले संरक्षण गरेका हौँ । मन्दिरको संरक्षण तथा प्रचारप्रसारमा स्थानीयबासी जुटेको छौँ । श्रमदानसँगै विभिन्न निकायमा बजेट माग गरेर मन्दिरको संरक्षण गरिरहेका छौँ ।”
मन्दिरको शिरमा प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडा रहेकोले यो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटनको राम्रो सम्भावना रहेको स्थानीयबासी शिवकुमार विष्टले बताउनुभयो । यो क्षेत्रको विकासका लागि गाउँका युवाहरु एकजुट भएर संरक्षण तथा विकास लागेको उहाँको भनाइ छ । यो मन्दिर टेम्केको काखमा रहेकोले नेपाल सरकारको एक सय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’लाई यो क्षेत्र भएर विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
“यो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण छ” उहाँले भन्नुभयो,“तर मझौले क्षेत्रमा पदमार्ग विस्तारको कुनै योजना छैन । यो क्षेत्रलाई पनि समेटेर पदमार्ग विस्तार गर्न जोडदार माग गरिरहेका छौँ ।”
यहाँ मन्दिर निर्माण तथा यसको व्यवस्थापनको लागि निःशुल्क आवश्यक जमिन प्रदान गरेको स्थानीयबासी देवबहादुर विष्टले बताउनुभयो । मन्दिरको संरक्षण तथा विकास विस्तारमा सवै जना एकसाथ अघि बढेको उहाँको भनाइ छ । यहाँ आएर दर्शन गरे मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको उहाँको भनाइ छ । पर्यटकीय रुपमा सुन्दर स्थलमा रहेको यो देवस्थल प्रसार/ प्रसारको कमिले ओझेलमा परेको उहाँको भनाइ छ । यसको महत्वलाई देश विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा निकै ठुलो टेवा पुग्ने विष्टले बताउनुभयो ।
“यो महत्वपूर्ण धार्मिक स्थल हो”उहाँले भन्नुभयो,“यो स्थानमा मन्दिर निर्माण तथा आवश्यक व्यवस्थापनको लागि मैले निःशुल्क जग्गा प्रदान गरेको छु । यो क्षेत्रलाई प्रचार प्रसार गर्न सकेमा यहाँको विकासमा थप टेवा पुग्ने देखिन्छ ।”
राज्यको मात्र बाटो हेर्ने भन्दा पनि आफ्नो तहबाट पनि योगदान गर्ने लक्ष्यले युवाहरु एकजुट भएर मन्दिरसँगै गाउँ विकासमा जुटेको स्थानीयबासी छिरिङ शेर्पाले बताउनुभयो । घेराबाराको काम सम्पन्न भएपनि मन्दिरको प्रदेशद्धार(गेट) आफ्नो पहलमा निर्माण गर्ने जिम्मा लिएको उहाँले बताउनुभयो ।“हामीले पनि आफ्नो ठाउँको विकासको लागि अगुवाई गर्नु पर्छ”उहाँले भन्नुभयो,“राज्यको तहको मात्र आशा गर्नेे भन्दा पनि हामी पनि जागरुक हुन आवश्यक छ । आफ्नो ठाउँको विकासमा आफ्नो तहबाट पनि योगदान गर्नु पर्छ भन्ने सोचका साथ हामी अघि बढेका छौँ ।”
यो स्थानमा तिज, शिवरात्री, रामनवमी, बालाचतुर्दशी तथा विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीयबासी एकराज विष्टले बताउनुभयो । चिताएको पुग्ने तथा मनोकाक्ष पुरा हुने धार्मिक विश्वासले मानिसहरु यहाँ आउने गरेको उहाँको भनाइ छ । मन्दिरमा शिव,गणेश, सूर्य, विष्ण र देवी गरी पञ्चायन भगवानको मुर्तीहरु रहेका छन् । यहाँ एक साथ पाँच देवताको दर्शन गर्न सकिने उहाँको भनाइ छ ।
“यो शिवपञ्चायन मानिसहरुको धार्मिक आस्थाको केन्द्र हो”उहाँले भन्नुभयो“प्रसिद्ध टेम्के डाँडाको काखमा रहेपनि यो स्थान ओझेलमा पर्नु दुःखको कुरो हो । हामी अहिले स्थानीयस्तरबाट प्रचार प्रसारमा जुटेका छौँ । राम्रो प्रचार गर्न सके यसले यहाँको आर्थिक विकासमासमेत टेवा पुग्ने देखिन्छ ।”