व्यावसायिक मौरीपालनमा जुट्दै लेखर्कका स्थानीयबासी


भोजपुर, १८ फागुन । भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ ९ लेखर्कका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालन सम्वन्धि प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रुपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् । आधुनिक मौरीपालनको विषयमा आवश्यक ज्ञान दिएर व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक सहयोग गरेपछि सहजता भएको स्थानीयबासीको भनाइ छ । यहाँ मौरीको प्रशस्त सम्भावना रहेकोले किसानलाई व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक ज्ञान, सीप दिँदै आएको छ ।

मौरी सम्बन्धि आवश्यक तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहजता भएको स्थानीय मौरीपालक किसान माधवप्रसाद चौलागाँइले बताउनुभयो । विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भएपनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उहाँले जानकारी दिनुभयो । दुई चरणको तालिममा सहभागी भएसँगै आफँैले आधुनिक घार निर्माण गर्न सक्ने सीप हासिल गरेको उहाँको भनाइ छ । “मैले व्यावसायिक रुपमा मौरीपालन गरिरहेको छु”उहाँले भन्नुभयो,“विगतमा मुढेघारमा मौरी पाल्दै आएको थिए । २१ दिने मौरीपालन सम्वन्धि तालिम लिएपछि अहिले आधुनिक तरिकाले पालन थालेको छु ।”
मौरीपालन सम्वन्धि तालिम पाएपछि व्यवसायिक रुपमा लाग्ने टेवा पुगेको स्थानीयबासी अमृत राईले बताउनुभयोे । आधुनिक रुपमा मौरीपालन गरेर आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । तालिमका क्रममा मौरीपालन सम्बन्धि आवश्यक ज्ञान पाएको उहाँले बताउनुभयो । आफूसँगै अहिले १५ घार मौरी रहेको उहाँले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय र वडाको पहलमा २० जना मौरीपालक कृषकलाई आवश्यक प्राविधिक ज्ञानसँगै आधुनिक मौरीघार निर्माणको तालिम दिइएको हो ।
यहाँका अधिकांश किसानले परम्परागत रुपमा मौरीपालन गरिरहेकाले उनीहरुलाई आधुनिक मौरीपालनमा जोड्न वडाले आवश्यक काम गरिरहेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । खेतबारीमा रसायनिक मलको प्रयोगको कारण मौरी मासिने खतरा बढेकोले रसायनिक मलको प्रयोगलाई न्यूनिकरण गर्नमा स्थानीयले ध्यान दिनु पर्ने उहाँको भनाइ छ । वडाले क्रमशः रसायनिक मलको प्रयोगमा न्यूनिकरण गर्नमा भूमिका खेलिरहेको उहाँले जानकारी दिनुभयो । पराम्परागत रुपमा हुँदै आएको मौरीपालनलाई आधुनिक प्रविधिमा जोड्न तालिमले सहयोग पुग्ने उहाँको भनाइ छ ।
“लेखर्क मौरीपालनको लागि निकै राम्रो क्षेत्र हो”वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो,“किसानले परम्परागत रुपमा मौरीपालन गरिरहेका छन्। । पराम्परागत रुपमा गरिदै आएको मौरीपालनलाई व्यावसायिकसँगै प्रविधिमैत्री बनाउन जोड दिएका छौँ । मौरीपालनबाट स्थानीयबासीको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य छ । हामी मौरीपालनको श्रोत केन्द्रको रुपमा विकास गर्न लागि परेका छौँ ।”
मौरीपालक किसानलाई लक्षित गरेर आफ्नो वडामा दुई चरणको तालिम सञ्चालन गरिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयमार्फत वडाको पहलमा किसानलाई तालिम दिइएको हो । वडाका चार सय ६९ घरपरिवार मध्ये दुई सय ५० बढी किसानले मौरीपालन गरिरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो ।“वडामा आर्थिक विकासको सम्भावना खोजी रहेका छौँ” वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो,“किसानलाई कसरी आयआर्जनमा जोड्न सकिन्छ भनेर वडाले आवश्यक काम गरिहेको छ । धेरै किसानको रोजाइमा रहेको मौरीपालनलाई व्यावसायिकता दिन हामीले जोड दिएका छौँ ।”
मौरीपालन किसानलाई लक्षित गरेर २१ दिनसम्म सञ्चालन गरिएको तालिममा मौरीको आधुनिक घार निर्माण, माटेघार निर्माण, कृतिम रानी बनाउने, एक घारबाट अर्को घारमा मौरी स्थानन्तरण गर्ने, चिसो र झरीको मौसममा मौरीलाई कसरी बचाउनेलगायत प्राविधक ज्ञान प्रदान गरिएको प्रशिक्षक जीवनाथ बरालले जानकारी दिनुभयो । सहभागि २० अगुवा किसानलाई अभ्यास गराएर सीप प्रदान गरिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार