
भोजपुर, १६ फागुन ।टेम्केमैयुङ गाउँपालिका न. ९ लेखर्कमा मौरीपालन सम्वन्धि २१ दिने स्तरउन्नोति तालिम सम्पन्न भएको छ । स्थानीय किसानलाई व्यावसायिक मौरीपालनमा जोड्नको लागि तालिम सञ्चालन गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको आयोजना तथा वडा कार्यालयको पहलमा तालिम सञ्चालन गरिएको हो । तालिमका क्रममा मौरीपालन सम्बन्धि घार निर्माण, रानी बनाउने, मुडेघारमा रहेका मौरी आधुनिक घारमा स्थानान्तरण गर्ने लगायत सम्बन्धि ज्ञान प्रदान गरिएको तालिमका प्रशिक्षक जीवनाथ बरालले जानकारी दिनुभयो ।
तालिम समापन कार्यक्रम बोल्दै वडाध्यक्ष नभराज माङ्गपाहाङ्ग यहाँका धेरै किसानले परम्परागत रुपमा मौरीपालन गरिरहेकोले यसलाई आधुनिकतासँगै व्यावसायिकता प्रदान गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विभिन्न मानविय क्रियाकलापका कारण मौरी मासिने भएकाले यस्ता कुरामा ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । मुख्य रुपमा रसायनिक मलको प्रयोगलो मौरीलाई हानि पु¥याउनु साथै मानव स्वास्थ्यसमेत असर गर्ने भएकोले किसानले रसायनिक मलको प्रयोगलाई घटाउनु पर्नेमा अध्यक्ष माङ्गपाहाङ्गले जोड दिनुभयो ।
“लेखर्क क्षेत्र मौरीपालनको लागि निकै उपयोगि मानिन्छ”अध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो,“धेरै किसानहरुले परम्परागत रुपमा मौरीपालन गरिरहेको अवस्था छ । उहाँहरुलाई आधुनिक मौरीपालन प्रविधिको विषयमा जानकारी दिन तालिम सञ्चालन गरेका हौँ । हामीले मौरीसँगै मानव स्वास्थ्यलाई ध्यान राख्दै रसायनिक मलको प्रयोग न्यूनिकरण गर्न आवश्यक छ ।”समापन कार्यक्रमको अवसरमा सहभागिहरुलाई प्रमाणसमेत वितरण गरिएको छ । तालिम निकै उपयोगि रहेको बताउदै सहभागिहरुले सिकेको सीपलाई व्यवहारमा प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।