कार्यसम्पादनमा मुल्याङ्कनमा हतुवागढी गाउँपालिका जिल्लामा पहिलो


भोजपुर, ४ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा भोजपुरको हतुवागढी गाउँपालिका पहिलो बनेको छ । आयोगले गरेको आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा हतुवागढीले ६५ दशमलव २ अंक प्राप्त गरी जिल्ला प्रथम बनेको हो ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको हो । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको, आवधिक योजना तर्जुमा गरे/नगरेको, नियमित सार्वजनिक सुनुवाई गरे/नगरेकोलगायत १७ सूचकको अनुगमनमा हतुवागढी प्रथम बनेको हो ।

आयोगको मुल्याङ्कनमा ६४ दशमलव ५ अंक ल्याएर रामप्रसादराई गाउँपालिका दोस्रो र ६२ दशमलव ४ अंक ल्याएर पौवादुङमा गाउँपालिका जिल्ला तेस्रो बनेको छ ।
त्यस्तै ६२ दशमलव १ अंक ल्याएर भोजपुर नगरपालिका चौथो, ५९ दशमवल ८ अंक ल्याएर आमचोक गाउँपालिका पाँचौँ, ५८ दशमलव ८ अंक ल्याएर षडानन्द नगरपालिका छैटौँ, ५७ दशमलव ९ अंक ल्याएर टेम्केमैयुङ गाउँपालिका सातौँ, ४९ दशमलव २ अंक ल्याएर अरुण गाउँपालिका आठाैँ र ४५ दशमवल ४ अंक ल्याएर साल्पासिलिछो गाउँपालिका नवौँ बनेको छ ।

स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ । आयोगका अनुसार कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरु मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार