पौवादुङमाका चार सय बढी विद्यार्थीलाई पोसाक


भोजपुर, २१ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयहरु बीच एक रुपता ल्याउने लक्ष्यले विद्यार्थीहरुलाई पोसाक(ट्रयाक सुट) वितरण गरिएको हो । पौवादुङमा ५ सानोदुम्माका छ वटा विद्यालयका चार सय ४४ जना विद्यार्थीलाई पोसाक वितरण गरिने छ । सानोदुम्मा माध्यमिक विद्यालयमा एक सय ७० थान र जाल्पा प्राथमिक विद्यालयमा १९ थान पोसाक वितरण गरिएको वडा कार्यालयले जनाएको छ । पोसाक आईसकेकाले माघ २३ गते भित्र वडाका सवै विद्यालयमा वितरण गरी सक्ने वडाध्यक्ष बोमप्रसाद राईले बताउनुभयो ।

महादेवी आधारभूत विद्यालय, बालकल्याण आधारभुत विद्यालय, पूर्व क्षितिज प्राथमिक विद्यालय र सुन्दर ज्योति प्राथमिक विद्यालयमा दुई दिन भित्र वितरण भईसक्ने उहाँको भनाइ छ । वडाले रु चार लाख बजेट विनियोजन गरेर पोसाक वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।“पठनपाठनमा सहजतासँगै वडा भित्रका विद्यालयहरु बीच एक रुपता ल्याउनको लागि पोसाक वितरण गरिरहेका छौँ” वडाध्यक्ष राईले भन्नुभयो,“हालसम्म दुई वटा विद्यालयमा वितरण गरिसकेका छौँ । माघ २३ गते भित्र सवै विद्यालयमा वितरण गरिसक्छौँ ।

यसले विद्यार्थीहरुको  सरसफाइ तथा खेलकुद प्रतियोगितामा सहभागिताका लागिसमेत सहजता थप्ने हामीले अपेक्षा लिएका छौँ ।” सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकारले यहाँको आवश्यकताको आधारमा काम अघि बढाएको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सामुदायिक विद्यालय केन्द्रित यस्ता कार्यक्रमले विद्यार्थीहरुमा पठनपाठनप्रति थप उत्प्रेरणा बढ्ने उहाँको भनाइ छ ।

गाउँपालिका भित्रका सवै ३२ वटा नै विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । समाज सुधारको मुख्य सूचक शिक्षा रहेकोले यहाँका सामुदायिक विद्यालय भौतिक विकाससँगै शैक्षिक सुधारमा योजनाबद्ध रुपमा गाउँपालिकाले काम गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

“समाज सुधारको मेरुदण्ड नै शिक्षा हो” अध्यक्ष राईले भन्नुभयो,“हामीले नैतिकवान शैक्षिक जनशक्ती उत्पादनमा ध्यान दिन आवश्यक छ । यहाँको शैक्षिक क्षेत्रको विकासका लागि गाउँपालिकाले योजनबद्ध रुपमा काम गरिरहेको छ । विद्यालयहरुको भौतिक निर्माणसँगै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भईरहेका छन् ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार