
भोजपुर, १४ माघ । आधुनिक प्रविधिको विषयमा जानकारी प्रदान गर्न भोजपुरको टेम्केमैयुङ ९ लेखर्कले निःशुल्क कम्युटर कक्षा सञ्चालन गरेको छ । वडाका जनप्रतिनिधी,कर्मचारी तथा स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कम्प्युटर सम्बन्धि ज्ञान प्रदान गर्ने लक्ष्यले कम्युटर कक्षा सञ्चालन गरेको हो । कम्प्युटर सम्वन्धि शिक्षा लिनको लागि सदरमुकाम तथा अन्य ठाउँमा जाँदा बढी खर्च हुने भएकाले वडामा नै कम्प्युटर कक्षा सञ्चालन गरिएको वडा कार्यालय जनाएको छ ।
पुस २ गतेबाट सञ्चालन भएको तालिम माघ ९ गतेसम्म सञ्चालन गरिएको हो । वडाले रु. एक लाख ५० हजार बजेट विनियोजन गरेर २५ जनालाई जनालाई निःशुल्क तालिम दिइएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो ।
“आधुनिक प्रविधिकको विषयमा सीप प्रदान गर्न हामीले कम्प्युटर तालिम दिएका छौँ” वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो,“बाहिरको ठाउँमा कम्प्युटरको सीप लिन जाँदा धेरै खर्च हुने भएकाले वडाले नै बजेट व्यवस्थापन गरेर २५ जनालाई तालिम प्रदान गरेका हौँ ।”
तालिममा स्थानीयसँगै वडाका जनप्रतिनिधी, कर्मचारी तथा शिक्षकहरुको पनि सहभागिता रहेको उहाँले बताउनुभयो । कम्प्युटर सम्वन्धि तालिम सञ्चालन गरिएपछि वडाको कार्यसम्पादनमासमेत सहजता थप्ने उहाँको भनाइ छ ।