
भोजपुर, १२ माघ । नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यले रामप्रसादराई गाँउपालिकाले वडास्तरबाट समाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन बृद्धबृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिएको हो । भौगोलिक विगतका कारण जेष्ठ तथा असक्त नागरिकलाई गाउँपालिका केन्द्रसम्म आउन जान समस्या रहेकोले शिविर चलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । स्थानीय सरकारले नागरिकलाई सहज सेवा प्रवाह गर्नको लागि आगमी वर्षहरुमा पनि यो अभियानलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।
“भौगोलिक विकटताका कारण जेष्ठ र अशक्त नागरिकलाई सहज रुपमा राज्यले दिएको सुविधा लिन सक्ने अवस्था छैन” अध्यक्ष राईले भन्नुभयो,“उहाँहरुले इच्छाएको व्यक्तिलाई दिँदा बाटोमा नै खर्च गरी दिएर भत्ता नपाउने अवस्था देखेपछि हामीनै वडा तथा घरदैलोमा पुगेर सेवा दिएका हौँ ।” सामाजिक सुरक्षा भक्ता शिविरिमार्फत वडा नं १ ओख्रेका एक सय ६८, वडा नं २ धोद्लेखानीका एक सय २४, वडा नं ३ भुल्केका एक सय ६० र वडा नं ८ खोक्सिकका एक सय ३७ जनालाई सेवा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त राईले जानकारी दिनुभयो । माघ १३ गतेसम्म सञ्चालन हुने शिविरबाट अन्य वडाका नागरिकलाई पनि सेवा प्रवाह गरिने उहाँको भनाइ छ ।
सहज रुपमा भत्ता पाएपछि बृद्धबृद्धा तथा असक्त नागरिकहरु खुसी भएका छन् । आफ्नै घर नजिकैबाट भत्ता लिन पाउँदा हर्षित भएको वडा नं ८ खोक्सिकका स्थानीय बृद्ध श्रीबहादुर राईले बताउनुभयो । भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती हुने गरेको उहाँको भनाइ छ ।
“वडाबाट नै भत्ता पाउँदा अति नै खुसी लागेको छ’बृद्ध राईले भन्नुभयो,“बुढेशकालको अवस्थामा हिँडेर गाउँपालिका केन्द्रसम्म जान समस्या छ । गाडीमा जादा पनि धेरै खर्च हुन्थ्यो । अहिले घर पायकमा नै भत्ता पाउँदा धेरै खुसी लागेको छ । अहिले सहज भएको छ।”