दोश्रो पौवादुङमा गोल्ड कपको उपाधी राजगढ झापालाई


भोजपुर, १० माघ । दोश्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ फुटबल क्लव झापाले जितेको छ । आज भएको अन्तिम खेलमा तिवारीभञ्याङ फुटवल क्लवलाई पेटाल्टीमा ४–३ गोल अन्तरले हराउँदै राजगढले उपाधी जितेको हो ।
जितसँगै राजगढ फुटबल क्लवले नगद रु. तीन लाखसँगै ट्रफि मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेता तिवारी भञ्याङ फुटवल क्लवले नगद रु. दुई लाख ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।
माघ १ गतेबाट शुरु भएको प्रतियोगितामा १४ ओटा टिमले सहभागिता जनाएका थिए । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।
राजगढका श्याम मूर्मु फाइनल खेलको म्यान अफ द म्याच चुनिनुभयो । सर्वोकृष्ट खेलाडी तिवारी भञ्याङका उमेश कार्की, उत्कृष्ट गोलरक्षक राजगढका योगेश धिमाल, उत्कृष्ट डिफेन्डर राजगढका धिरेन क्षेत्री, सर्वाधिक गोलकर्ता राजगढका अमित बेसाहारा, उत्कृष्ट मिड फिल्डर राजगढका हेमन्त लिम्बु र वेस्ट राईजिङ खेलाडी आशाहाङ राई बनेको पौवादुङमा गोल्ड कप तथा माघिमेला कार्यक्रम आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो ।


विजेता तथा उपविजेता बन्ने समुहलाई पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकाससँगै युवा, बालवालिकाहरुको शारिरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुगेको अध्यक्ष राईको भनाइ छ ।
“गाउँपालिकाको आर्थिक व्यावस्थापनमा हामीले दोश्रो पौवादुङमा गोल्ड कपसँगै माघिमेला गरेका सञ्चालन गरेका हौँ” अध्यक्ष राईले भन्नुभयो,“प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । यस्ता प्रतियोगितामामार्फत खेल क्षेत्रको विकास गर्ने हाम्रो लक्ष्य हो ।”

गोल्ड कप तथा मेलाको समापन कार्यक्रममा बोल्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले गोल्ड कप तथा माघिमेला सञ्चालनले खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पुग्ने बताउनुभयो । आफु मुख्यमन्त्री हुँदा खेल क्षेत्रको विकास लागि विभिन्न काम गरेको उहाँको भनाइ छ । निर्माणधीन पौवादुङमा रंगशालालाई पूर्णतादिन बजेट व्यावस्थापनमा पहल गर्ने बताउनुभयो । यो खेलमैदानलाई सुविधा सम्पन्न खेलमैदानको रुपमा विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार