स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कणमा प्रथम हुने पौवादुङमा गाउँपालिका सम्मानित


भोजपुर, २२ पुस । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा जिल्ला प्रथम बनेको पौवादुङमा गाउँपालिका सम्मानित भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्य प्रथम बनेसँगै जिल्ला समन्वय समिति भोजपुरले सम्मान गरेको हो । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले गाउँपालिकालाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा आर्थिक वर्ष २०७९/ ८० मा ७७ अंक ल्याएर पौवादुङमा गाउँपालिका जिल्लामा पहिलो बनेको थियो ।

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ अनुसार स्थानीय तहको मूल्याङ्कन गर्ने गर्दछ ।

यो अन्तर्गत योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलगायत विषय क्षेत्रहरूको मुल्याङ्कण हुने गर्दछ ।

स्थानीय तह वित्तीय जोखिम मूल्यांकन भन्नाले स्थानीय सरकारको आर्थिक र वित्तीय व्यवस्थापनमा देखा पर्ने सम्भावित जोखिमहरूको पहिचान, मूल्यांकन र व्यवस्थापन गर्ने प्रक्रिया हो। यसले स्थानीय तहको वित्तीय स्रोतहरूको प्रभावकारी उपयोग, पारदर्शिता र दिगोपनाको सुनिश्चितता गर्न मद्दत गर्दछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार