भुल्केको गुप्तेश्वर महादेवको संरक्षण गरिँदै


भोजपुर, २२ पुस । भोजपुरको भुल्केमा रहेको गुप्तेश्वर महादेव देवस्थलको संरक्षण थालिएको छ । रामप्रसादराई गाउँपालिका ३ भुल्केमा रहेको यो धार्मिक क्षेत्रको विकासको लागि संरक्षण थालिएको हो । अहिले मन्दिरलगायत विभन्नि संरचनाहरुको निर्माण सम्पन्न भएको छ । यहाँ गाउँपालिका र संघ सरकारको लागत साझेदारीमा रु.७० लाख लागतमा मन्दिर बनाउने, सडक चौडा बनाउने,मन्दिरको सुरक्षाको लागि ग्याविन पर्खाल लगाउने लगायतको काम सम्पन्न भएको वडाध्यक्ष रामुथापा मगरले जानकारी दिनुभयो । यो देवस्थललाई विकास गर्दै स्थानीयको आयश्रोतको रुपमा विकास गर्ने लक्ष्यका काम भइरहेको उहाँको भनाइ छ ।

“गुप्तेश्वर महादेव मन्दिरको संरक्षण तथा विकासमा जुटेका छौँ”वडाध्यक्ष थापामगरले भन्नुभयो,“यहाँ अहिले मन्दिर निर्माणसँगै आवश्यक संरचना निर्माणको काम गरेका छौँ । यो स्थानलाई एक स्थापित धार्मिक गन्तव्यको रुपमा विकास गर्न हामी जुटेका छौँ ।” वडा भित्र रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै जलाधार क्षेत्रको संरक्षणमा काम भरइरहेको उहाँले बताउनुभयो । यहाँ रहेका तीनधारे मुहान, भुल्के मुहानको जलवायु अनुकुलन कार्यक्रम अन्तर्गत संरक्षण गरिएको उहाँले जानकारी दिनुभयो । सुख्खा क्षेत्रका प्राकृति रुपमा उम्रिएका मुहानहरुको संरक्षणको लागि रिचार्ज पोखरीसमेत निर्माण गरिएको उहाँको भनाइ छ ।

गुप्तेश्वर महादेव मन्दिरमा दर्शन गरे मनोकाङक्षा पुरा हुने तथा चिताएको पुग्ने धार्मिक विस्वासले मानिसहरु आउने गरेको स्थानीयबासी तथा वडासदस्य टेकराज भट्टराईले जानकारी दिनुभयो । यहाँ राम नवमी र वालाचर्तुदशीमा भव्य मेला लाग्ने गरेको उहाँको भनाइ छ । यहाँ भोजपुर, खोटाङसँगै देशका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शनको लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । यो देवस्थललाई सानो हलेसीको रुपलेसमेत चिनिने उहाले जानकारी दिनुभयो । “गुप्तेश्वर महादेवको दर्शनको लागि विभिन्न ठाउँबाट भक्तजनहरु आउने गरेका छन् । उहाँले भन्नुभयो,“यहाँ वर्षमा दुई पटक भव्य मेला लाग्छ । यसको विकास तथा प्रचारप्रसारमा स्थानीय सरकारले पनि काम गरिरहेको छ ।”

यो स्थानमा भुल्के– धोद्लेखानी सडक विस्तारको क्रममा २०७६ सालमा देवस्थल फेला परेको उहाँको भनाइ छ । यहाँ रहेको दैविक शक्तिका कारण स्काभेटर यहाँसम्म पुग्न नसकेको उहाँले जानकारी दिनुभयो । पछि क्षमा पुजाआजा गरिएको उहाँले बताउनुभयो । सडक खन्ने क्रममा देवी देवताको मूर्तीसँगै अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर महादेव नामाकरण गरेर संरक्षण थालिएको हो ।

गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम भईरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटनको विकासको लागि यस्ता ठाउँको विकाससँगै प्रचार प्रसारमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ ।

गुप्तेश्वर महादेव मन्दिरको विस्तृत परियोजना प्रतिवेदन(डीपिआर) तयार गरेर नै विकास तथा संरक्षणको काम भइरहेको उहाँको भनाइ छ । “गाउँपालिका र केन्द्र सरकारको बजेटमा यसको विकास लागि काम गरेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“यहाँ विस्तृत परियोजना प्रतिवेदन(डीपिआर) नै तयार गरेर संरक्षणका काम भईरहेको छ। गाउँपालिका भित्र रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा हामीले योजनाबद्ध रुपमा काम अघि बढाएका छौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार