भोजपुर, १२ पुस । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केका किसान जैविक खेती प्रणालीमा जुटेका छन् । विषादीरहित कृषिबाली उत्पादन गर्ने उद्धेश्यले किसानहरु जैविक खेती प्रणालीमा जुटेका हुन् । रामप्रसादराई गाउँपालिका तथा वडा कार्यालयले अभियान सञ्चालन गरेर यहाँका अगुवा किसानहरुलाई जैविक खेती प्रणालीको विषयमा आवश्यक तालिमसँगै सामग्रीसमेत वितरण गरेपछि किसानहरु यो खेती प्रणाली प्रति आकर्षित भएका छन् ।
गाउँपालिकाको कृषि शाखाले यहाँका आठ वटा नै वडामा जैविक खेती प्रणाली तथा जैविक विषादी बनाउने, स्थानीयस्तरमा पाउने कच्चा पदार्थको प्रयोगबाट प्राङ्गारिक मल बनाउनेलगायतका विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको रामप्रसादराई ३ भुल्केका वडाध्यक्ष रामुथापा मगरले जानकारी दिनुभयो । बजारमा बाहिरी जिल्लाबाट आउने विषाधीयुक्त तरकारी तथा कृषि उपजहरुको आयात बढेपछि किसानहरुलाई जैविक खेती प्रणालीमा जोड दिइएको वडाध्यक्ष थापामगरको भनाइ छ ।
“हामीले यहाँ जैविक खेती प्रणालीमा जोड दिएका छौँ”वडाध्यक्ष थापामगरले भन्नुभयो,“किसानलाई अभ्यास गराएर जैविक खेती प्रणाली तथा जैविक मल, विषादी बनाउने विषयमा आवश्यक तालिमसँगै साम्रगी पनि वितरण गरिरहेका छौँ । अहिले किसानहरु जैविक खेती प्रणालीमा जुटेको अवस्था छ । यो अभियान भावी दिनमासमेत जारी राख्छौँ ।”
बढ्दो रसायनिक मलको प्रयोगलाई न्यूनिकरण गर्दै किसानलाई जैविक खेती प्रणालीमा जोड्नको लागि आवश्यक सामग्री वितरणसँगै तालिम दिएको हो । यहाँका ८ वटै वडाका अगुवा कृषकलाई लक्षित गरेर अभ्यासमूलक जैविक खेती प्रविधिको विषयमा सीप प्रदान भईरहेको छ । गाउँपालिकाले जैविक खेती प्रणाली सम्बन्धी तालिम दिएपछि यो खेती प्रणालीमा लाग्न सहज भएको स्थानीय अगुवा किसान गोपाल खड्काले बताउनुभयो । जैविक खेती प्रणाली सम्बन्धी प्राविधिकहरुबाट अभ्यासमार्फत सीप लिन पाउँदा सिकाई उपलब्धिमूलक बनेको उहाँको भनाइ छ ।
“स्थानीय सरकारबाट हामीले जैविक खेती प्रणालीमा लाग्नको लागि तालिमसँगै आवश्यक प्राविधिक सहयोग पाएका छौँ”उहाँले भन्नुभयो,“प्राविधिकहरुबाट मैले जैविक खेती प्रणालीको विषयमा धेरै ज्ञान लिने अवसर पाए ।स्थानीयस्तरमा पाइने वस्तुको प्रयोग गरेर धैरे खालका मल तथा विषादी बनाउन सकिने रहेछ ।”
अगुवा किसानलाई बारीमा नै अभ्यास गराएर जैविक खेती प्रणालीसँगै स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोगबाट प्राङ्गारिक मल, विषादी बनाउनेलगायत विषयमा सीप प्रदान गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमुख धिरज ठाकुरले बताउनुभयो । किसानलाई जैविक खेती प्रणालीमा लाग्नको लागि आवश्यक पर्ने सामग्रीहरुसमेत वितरण गरिएको उहाँको भनाइ छ । किसानहरुलाई जैविक उत्पादनको महत्व तथा यस्ता उत्पादनले मानव जीवनमा पु¥याउने फाइदाको विषयमासमेत जानकारी दिँदै आएको उहाँको भनाइ छ ।
“स्वास्थ्य जीवन शैलीको लागि हामीले जैविक खेती प्रणालीमा जोड दिन आवश्यक छ” उहाँले भन्नुभयो,“किसानहरुमा जैविक खेती प्रणालीको विषयमा ज्ञान नहुँदा पनि रसायनिक मलको बढी प्रयोग हुने गरेको अवस्था छ । हामीले यहाँका किसानलाई जैविक खेती प्रणालीको विषय आवश्यक ज्ञान प्रदानसँगै यो प्रविधिको विषयमा जानकारी दिएका छौँ । किसानहरु अहिले उत्साहका साथ जैविक खेती प्रणालीमा जुटेका छन् ।”
किसानलाई कृषिमा आत्मभिर्नर बनाउने लक्ष्यको साथ गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएर अघि बढेको गाउँपालिका अध्यक्ष थामबहादुर राई बताउनुभयो । गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेर किसानले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरणमासमेत सहयोग गर्दै आएको उहाँको भनाइ छ ।“हामीले खास गरेर जैविक खेती प्रणालीमार्फत अर्गानिक उत्पादनमा जोड दिएका छौँ”अध्यक्ष राईले भन्नुभयो,“अहिले हामीले सवै वडाका अगुवा किसानलाई जैविक खेती प्रणालीको विषयमा आवश्यक तालिम दिँदै आएका छौँ । किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरणको लागिसमेत आवश्यक सहयोग गर्दै आएका छौँ ।”
जलावायु परिवर्तनको नकारात्मक असरको न्यूनिकरणसँगै मानव स्वास्थ्यमा लाग्ने क्यान्सरलगायतका नसर्ने प्राणघातक रोग बढदै गएकाले पछिल्लो समय जैविक खेती प्रणालीमा जोड दिन आवश्यक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । मावन स्वास्थ्यलाई ध्यानमा राख्दै रसायनिक मल र विषादीको प्रयोगलाई घटाउने लक्ष्यका साथ गाउँपालिकाले जैविक खेती प्रविधिमा जोड दिएको उहाँको भनाइ छ । व्यावसायिक खेती प्रणालीमा लाग्ने किसानलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा सहयोगका कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ । रासस