‘मुन्दुम भ्रमण वर्ष २०२५’ मा एक लाख पर्यटक भित्राउने लक्ष्य


भोजपुर, १० पुस ।
नेपाल सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गलाई लक्षित गरेर ‘मुन्दुम भ्रमण वर्ष सन् २०२५’मनाइने भएको छ । भ्रमण वर्षमा यो पदमार्गमा आन्तरिक र बाह्य गरी एक लाख पर्यटक भित्राउने लक्ष्य लिइएको छ ।
भ्रमण वर्षलाई सफल बनाउनको लागि यो पदमार्गले समेटेका भोजपुर, खोटाङ र सोलुखुम्बुका स्थानीय तहहरु आवश्यक गृहकार्यमा जुटेका छन् । पूर्वी क्षेत्रको एक मात्र सहज र सरल पदमार्गको रुपमा लिइने यो पदमार्गको विकासमा तीन वटा जिल्लाका स्थानीय तहहरु एकजुट बनेर अघि बढेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मुन्दुम भ्रमण वर्ष सन् २०२५ मा एक लाख पर्यटक भित्राउने लक्ष्य रहेको उहाँको भनाइ छ ।
“मुन्दुम पदमार्गको थप विकास तथा विस्तारको लागि मुन्दुम भ्रमण वर्ष २०२५ मनाउने तयारीमा जुटेका छौँ” अध्यक्ष बस्नेतले भन्नुभयो,“यसको लागि भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिकाहरु एकजुट भएर अघि बढेका छौँ । यो भ्रमण वर्षमा एक लाख पर्यटक भित्राउने हाम्रो लक्ष्य छ ।”


भ्रमण वर्षलाई लक्षित गरेर पर्यटन प्रर्वद्धनको लागि मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ ४ नागीमा यहि माघ १ गतेबाट ५ गतेसम्म ‘साँस्कृतिक, पर्यटन तथा कृषि मेला’को आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उक्त कार्यक्रममार्फत मुन्दुम पदमार्गको प्रर्वद्धन र दिगो विकासका लागि यस क्षेत्रमा पर्ने पालिकाहरुको साझा अवधारणा पत्र सार्वजनिकसँगै संयुक्त रुपमा हस्ताक्षर गरिने उहाँको भनाइ छ ।
“मुन्दुम पदमार्गको विकासको लागि मेलाकोसमेत आयोजना गरिएको छ” अध्यक्ष बस्नेतले भन्नुभयो,“ सो अवसरमा पदमार्गको विकासका लागि पालिकाहरुको तर्फबाट अवधारणा पत्र सार्वजनिक गरिने छ ।मेलामा पर्यटकलाई लक्षित गरेर स्थानीय उत्पादनहरुको प्रर्दशनी गरिनेछ ।”
भ्रमण वर्षलाई लक्षित गरेर यो पदमार्गले समेटेका स्थानीयहरुसँग पटक पटक समन्वयत्मक वैठक गरिएको उहाँको भनाइ छ । संयुक्त वैठकबाट भ्रमण वर्षलाई सफल बनाउन आफ्नो तहबाट खेल्नु पर्ने भूमिका तथा गर्नु पर्ने कामको विषयमा निर्णय गरेर अघि बढेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
यो पदमार्गको बृहत्तर विकासका लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, खोटाङको केपिलाशगढी गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपकोट मझुवागढी नगरपालिका र सोलुको महाकुलुङ गाउँपालिका संयुक्त जुटेका हुन् ।
मुख्य सरोकारवाला सात वटा स्थानीय तह बीच भोजपुरको चखेवामा मङ्सिर ५ गते संयुक्त वैठक गरेर भ्रणम वर्षको तयारी थालिएको गाउँपालिकाले जनाएको छ । यो पदमार्गको थप विकास तथा विस्तारको लागि स्विस सरकार, केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा यो वर्ष रु. एक करोड ८५ लाख वरावरको काम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो ।
भ्रमण वर्षलाई केन्द्रीत गरेर पदमार्गको विस्तार, भौतिक संरचनाको निर्माणसँगै खानेपानी, सौचालय, विश्राम स्थललगायतको निर्माण थालिएको उहाँको भनाइ छ ।“यो पदमार्गको थप विकास तथा विस्तारको लागि बजेट प्राप्त भएको अवस्था छ” प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो,“भ्रमण वर्षलाई लक्षित गरेर कामको थालनी गरेका छौँ । यो बजेटबाट आवश्यक संरचनाहरु निर्माण हुनेछन् ।”
भ्रमण वर्षमा आउने पर्यटकहरुलाई लक्षित गरेर २३ जनालाई पदप्रर्दशकको आधारभूत तालिम दिइएको टेम्केमैयुङ ३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । पर्यटकहरुलाई ढुक्क भएर सहज र सुरक्षित यात्रा गर्न सक्ने वातावरण निर्माण गरिएको उहाँको भनाइ छ ।
यो पदमार्गको यात्राको क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला एक साथ हेर्न सकिने पर्यटन व्यवसायीहरुको भनाइ छ ।
पदमार्गको आसपासमा निर्माण भएका किराँतहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाहरुले पालेका चौरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गरेको छ ।
अग्ला हिमश्रृङखला, पहाडका अग्ला डाँडाहरु, तराइका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको छ ।
यो पदमार्गमा बढी मात्रामा भदौ, असोज, कार्तिक र मङ्सिर महिनामा पर्यटक आउने स्थानीयबासीको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न साथै हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकोले यो क्षेत्र पर्यटकको रोजाइँमा पर्ने गरेको छ ।
यो पदमार्गमा भोजपुरको सवैभन्दा अग्लो चार हजार १५३ मिटर उचाईमा रहेको सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ । यो पदमार्गको नाम किराँत संस्कृतिबाट राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार