पौवादुङमालाई बालश्रम मुक्त पालिका घोषणाको तयारी पुरा


भोजपुर, ४ फागुन । पौवादुङमा गाउँपालिका बालश्रममुक्त घोषणाको अन्तिम चरण पुगेको छ । यहाँका छ वटै वडालाई बालश्रममुक्त घोषणा गरिएसँगै गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्न लागिएको हो । सम्पूर्ण तयारी भएकोले गाउँपालिकालाई यहि फागुन ६ गते घोषणाको तयारी गरिएको छ । यो विश्वश्रम संगठनको एआर सी प्रोजेक्टलेसँगको सहकार्यमा गाउँपालिकाले बालश्रममुक्त घोषणाको लागि आवश्यक काम गरिरहेको छ । गाउँपालिकाले विश्वश्रम संगठनसँग सम्झौता गरेर दुई वर्षअघिबाट बालश्रममुक्त घोषणा कार्यक्रमको थालनी गरेको थियो । कार्यक्रम सञ्चालनको लागि प्रत्येक वडामा गणकहरु खटाएर तथ्याङ्क संकलन गरेर आवश्यक घोषणा प्रक्रिया अघि बढाइएको थियो । ३२ ओटा  विद्यालयमा बालश्रममा पर्न सक्ने सम्भावना भएका बालबालिकालाई शैक्षिक सामग्री वितरणसँगै सचेतना कार्यक्रम सञ्चालन, सरोकारवाला निकायलाई सकृय बनाउदै गाउँ बालअधिकार समिति, विभिन्न ठाउँमा बाल क्लव गठनको कामलाई प्रभावकारी रुपमा अघि बढाइएको थियो ।

बालश्रममुक्त गाउँपालिका घोषणा पूर्व यहाँका बालश्रमको जोखिममा पर्न सक्ने तथा उच्च जोखिममा रहेका १८ वर्ष मुनिका बालवालिकाको तथ्याङ्क राखेर आवश्यक सचेतना तथा सहयोगको कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । उनीहरुलाई बालश्रममा लाग्नबाट टाढा राख्नको लागि सवै वडामा रहेका बालबालिकाहरुको वडाबाट विवरण तयार गरिएको छ । उनीहरुलाई परिवारिक सहयोगसँगै विद्यालय प्रोत्साहन कार्यक्रम तथा अन्य सहयोग गर्न सकेमा बालश्रमको जोखिमबाट बचाउन सकिने अनुगमन समितिले सुझाव दिएको छ ।  बालश्रममुक्त घोषणाको लागि वडास्तरमा अनुगमन समितिले यहाँको अवस्थाको बारेमा आवश्यक प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा बालश्रमको जोखिममा पर्न सक्ने बालबवालिको विवरणसमेत समेटिएको छ ।

प्रतिवदेनमा समेटिएका जोखिममा पर्न सक्ने बालवालिकालाई गाउँपालिका तथा वडा कार्यालयले थप सचेनतासँगै आवश्यक सहयोग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । घोषणा पश्चात यहाँका बालबालिकालाई श्रमबाट बचाउन थप कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ ।
“गाउँपालिकालाई बालश्रममुक्त घोषणाको तयारी गरेका छौँ”प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो,“हामीले श्रमको जोखिममा पर्न सक्ने बालबालिकाको विवरण राखेर थप कार्यक्रम सञ्चालनको तयारी गरेका छौँ । घोषणा पश्चात उनीहरुलाई बालश्रममा लाग्न नदिनको लागि सरोकारवाला पक्षलाई सचेत गराएका छौँ ।बालश्रमलाई पूर्ण रुपमा अन्त्य गर्नको लागि भावी दिनमा पनि सवै पक्ष गम्भिर भएर लाग्न आवश्यक छ ।”

यहाँका विभिन्न वडामा एक सय १८ जना बालबालिका विद्यालय बाहिर रहेकोले बालश्रमको जोखिमबाट बचाउन उनीहरुलाई विद्यालय फर्काउने अथवा अन्य विकल्पको खोजी गरेर भावी योजनालाई अघि बढाउनु पर्ने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । घोषणा पश्चात यसको दिगोव्यवस्थापन लागि बालबालिकालाई उपयुक्त वातावरण निर्माण गर्नु पर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्ययले बताउनुभयो । उनीहरुलाई उपयुक्त वातावरण निर्माण गर्न सकेमा बालश्रम घट्दै जाने उहाँको भनाइ छ ।

पौवादुङमा गाउँपालिका कोशी प्रदेशमा बालश्रममुक्त घोषणा गर्ने पहिलो पालिका हुने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । अथक मेहनत पश्चात गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष राईको भनाइ छ । घोषणा पश्चात बालश्रमको जोखिममा पर्न सक्ने बालबालिकाको घर/घरमा पुगेर आवश्यक विवरण संकलन गरेर उनीहरुलाई जोखिमबाट बचाउन सकिने उहाँको भनाइ छ । बालबालिकाको अवस्थाको विश्लेषण गरेर भावी कार्यक्रम सञ्चालन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

“गाउँपालिकामा बालश्रम शुन्य भएको अवस्था छ”अध्यक्ष राईले भन्नुभयो,“ हामी गाउँपालिकालाई बालश्रममुक्त घोषणाको अन्तिम चरणमा पुगेका छौँ । यो घोषणा गरेर मात्र अन्त्य हने विषय होइन् । यसको सफल कार्यान्वयनको लागि सवै पक्ष गम्भिर बन्न आवश्यक छ । बालबालिकाहरु श्रमको जोखिममा पर्न सक्ने सम्भवानालाई ध्यानमा राखेर आवश्यक कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले भूमिका खेल्ने छ ।” प्रत्येक बर्ष गाउँपालिका, प्रदेश, संघीय सरकार तथा विभिन्न निकायलहरुसँग सहकार्य गरि बालश्रममुक्त गाउँपालिका सुनिश्चीतता गरिने छ ।

गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्नको लागि दुई वटा कार्यविधि र बालवालिका नीति तयार गरेर काम अघि बढाइएको कार्यक्रम संयोजक टेकराज खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार