भोजपुर, १९ माघ । जिल्ला अस्पताल भोजपुरको नर्सिङ क्वाटर भवनको निर्माण सम्पन्न भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याट बाहेक रु.दुई करोड ८५ लाख ८४ हजार ७२२ रुपैँया लागतमा निर्माण सम्पन्न भएको हो । आठ परिवार बस्ने गरी निर्माण भएको क्वाटर भवन (आवास भवन) सघन शहरी तथा भवन निर्माण आयोजनाले जिल्ला अस्पताल भोजपुरलाई शुक्रबार हस्तान्तरण गरेको छ । भवन व्राईट वुल÷युडि जेभीले निर्माण सम्पन्न गरेको हो । भवन निर्माणको काम २०७८ भदौबाट शुरु भएको थियो ।
एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नु पर्ने सम्झौता भएपनि कोभिड लगायत विभिन्न कारणले नौ महिना म्याद थप गरिएको आयोजनाले जनाएको छ । तोकिएको मापदण्ड अनुसार गुणस्तरिय तवरबाट भवन निर्माण गरेको युडि विल्डर्स निर्माण कम्पनीका प्रमुख उत्तम खड्काले बताउनुभयो । तोकिएको समय अघि नै सक्ने लक्ष्यका साथ काम गरेको भएपनि कोभिडका कारण नौ महिना म्याद थप्नु परेको उहाँको भनाइ छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका का.मु आयोजना प्रमुख सुमन कुमार मिश्रले जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष कमल थुलुङलाई भवन हस्तान्तरण गर्नु भएको हो । नर्सिङ क्वाटर भवन निर्माणले सेवा प्रवाहमा सहजता भएको जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजालले बताउनुभयो । आवास भवन नहँुदा समस्या रहेको अवस्थामा भवन निर्माणले हौसला थपेको उहाँको भनाइ छ ।
“नर्सिङ क्वाटर नहँुदा सेवा प्रवाहमा धेरै कठिनाइ थियो” प्रमुख रिजालले भन्नुभयो,“क्वाटर नहुँदा बाहिर बस्नु पर्ने भएकाले रातको समयमा धेरै समस्या थियो । अव भने विरामीलाई सेवा प्रवाह गर्न थप सहजता भएको छ ।” भवन निर्माणले अस्पतालको सेवा प्रवाहमा सहजता थपेको बताउँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भावी दिनमा यसको व्यावस्थापनको लागि अस्पताल प्रशासनले ध्यान दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सभापति तथा अस्पताल व्यावस्थापन समितिका अध्यक्ष कमल थुलुङले अस्पतालले दिने सेवालाई अझ सहज र प्रभावकारी बनाउने गरी काम गरिरहेको बताउनुभयो । भवन निर्माण सेवा प्रवाहमा थप सहजता भएको उहाँको भनाइ छ । भवनको भुईतला र पहिलो तलामा आठ परिवारको लागि एक÷एक ओटा लिभिङ रुम, बेड रुम, भान्सा कोठा, र शौचालय रहेको जनाइएको छ । त्यस्तै दोश्रो तलामा भण्डारण कक्ष र एक ओटा पाहुना कोठा रहेको छ ।