भोजपुर, १३ साउन । स्थानीय नागरिकलाई सहज सेवा दिने लक्ष्यले पौवादुङमा गाउँपालिकाले वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणको गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन बृद्धबृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो । घुम्ति शिविर मार्फात गाउँपालिकाले वडा नम्वर- ५ सानोदुम्माका एक सय ४३ जना नागरिकलाई भत्ता वितरण गरेको हो ।
सहज रुपमा भत्ता पाएपछि बृद्धबृद्धा तथा असक्त नागरिकहरु खुसी भएका छन् । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहजता थप्नको लागि गाउँपालिकाको निर्णय अनुसार यस्तो कामको थालनी गरेको वडा नम्वर- ५ का वडाध्यक्ष बोम प्रसाद राईले बताए । वडामा दुई सय ४८ सेवाग्राही रहेकोमा एक सय ४ ३ जनालाई वडाबाटै भत्ता वितरण गरिएको र बाँकीले बैंकमा आफै गएर भत्ता लिन सक्ने उनको भनाई छ ।अभियान अन्तर्गत गाउँपालिका भरिका छ ओटै वडामा वडा स्तरबाटै सामाजिक सुरक्ष भत्ता वितरण भईरहेको गाउँपालिकाले जनाएको छ ।