भोजपुर, ११ साउन भौगोलिक विकटताको कारण स्थानीयलाई समस्या भएपछि भोजपुरको रामप्रसादराई गाउँपालिकाले वडास्तरबाट पालिकाको सेवा दिएको छ । दुर्गम भेगका नागरिकको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले आठ दिनसम्म शिविर सञ्चालन गरेर वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरणसँगै आवश्यक सेवा प्रदान गरेको हो । शिविर मार्फत गाउँपालिकाले सेवा लिन आएका नागरिकको स्वस्थ्य परीक्षणसगै आर्थिक वर्ष २०८०/८१ को लागि सामाजिक सुरक्षा भत्ता परिचय पत्रसमेत नविरकण गरिदिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । आफ्नो कार्यकालमा सेवा लिनको लागि घण्टौँ लगाएर गाउँपालिका केन्द्रसम्म आउनु पर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट आवश्यक सेवा प्रदान गर्ने कार्यको थालनी गरेको उनको भनाइ छ ।
‘घुम्ती शिविर मार्फत गाउँपालिकाको सेवा वडास्तरसम्म विस्तार गरेका छौँ’अध्यक्ष राईले भने,‘ स्थानीय नागरिकको सहजताको लागि काम गरिरहेका छौँ । वर्षातले बाटो विग्रिएको कारण नागरिकलाई गाउँपालिका केन्द्रसम्म आउन समस्या छ । सेवा लिन आउन समस्या हुने भएकोले परिचय पत्रसमेत शिविरबाट नै नविकरण गरिदिएका हौँ ।’ साउन ४ गतेदेखी ११ गतेसम्म सञ्चालन गरिएको शिविर मार्फत वडा न. १ ओख्रेका एक सय ९० जना, वडा नं. २ धोद्लेखानीका एक सय १३ जना, वडा नं. ३ भुल्केका एक सय ५५ र वडा नं ४ दलगाउँका एक सय ४० जनाले वडास्तरबाट भत्ता बुझेका छन् ।
त्यस्तै वडा नं ५ मानेभञ्याङका ९३ जना, वडा नं ७ बासीखोराका एक सय ७० र वडा नं ८ खोक्सिकका एक सय २३ जना गरी नौ सय ८४ जनाले वडाबाट नै सेवा पाएको गाउँपालिकाले जनाएको छ ।एकिकृत घुम्ती शिविर मार्फत वडामा सेवा पाउदा स्थानीय नागरिक पनि खुसी भएका छन् । सेवा लिन गाउँपालिकासम्म जानु पर्ने बाध्यताको अन्त्य भएको स्थानीयबासी जागिरधन राईले बताए ।‘सानो कामको लागि पनि चार/पाँच घण्टा लगाएर वैकुण्ठे जानु पथ्र्यो’उनले भने,‘अहिले आफ्नै वडामा भत्ता पाए । स्वास्थ्य परिक्षण पनि गरे । गाउँपालिकाले थालेको अभियानले धेरै सहज भएको छ ।’ गाउँपालिकाले वडास्तरबाट भत्ता वितरणसँग सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गरिदिएकाले सहजत भएको स्थानीबासी अम्बिमाया राईले बताइन् । ‘शिविर मार्फत सेवा पाउँदा खुसी लागेको छ ’उनले भनिन्,‘ गाउँपालिकामा पुगेर गर्नु पर्ने काम यहि गर्न पाएका छौँ ।यसले हामी जस्ता जेष्ठ नागरिक र असक्तलाई धेरै सहयोग पुगेको छ ।’
असक्त तथा बृद्धबृद्धा नागरिकको समस्यालाई मध्यनजर गरेर सहज प्रदान गर्न यो अभियानको थालनी गरेको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले बताए । ‘स्थानीय नागरिकलाई सकेसम्म सहज रुपमा सेवा दिने हाम्रो लक्ष्य हो’ उपाध्यक्ष राईले भने,‘ कानुनले दिएसम्म घर पाएकमा नै सेवा दिने अभियान सञ्चालन गरेका छौँ । सहज रुपमा सेवा पाउँदा नागरिक हर्षित भएको पाएको छौँ । यो अभियान आगामी दिनमा पनि जारी राख्ने हाम्रो उद्धेश्य छ ।’ शिविर मार्फत पञ्जिकरण लगायतको सेवा पनि प्रदान गरिएको गाउँपालिको जनाएको छ ।