भोजपुर १५ असार । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाले श्रमदान अभियान थालेको छ । श्रमदानले विकास निर्माणको काममा टेवा पुग्ने भएकाले यस्तो अभियानको थालनी गरिएको वडा कार्यालयले जनाएको छ । वडाले सञ्चालन गरेको श्रमदान अभियानमा एक सय वढीको सहभागिता रहेको वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।
श्रमदान मार्फत करिव चार किलोमिटर सडकको नालि खन्ने, झाडी पन्छाउने तथा बाढीले वगाएको ठाउँको खाल्डा खुल्डी पुर्ने काम भएको अध्यक्ष तामाङको भनाई छ । ‘ केही दिन अगाडीको बर्षातले कृषि सडक विगारे पश्चात श्रमदान मार्फत सडक मर्मत गरिएको हो ’ वडाध्यक्ष तामाङले भने ‘ श्रमदान मार्फतनै हामीले चार किलो मिटर सडक मर्मत गरेका छौ, सवैले श्रमदान गरे विकास निर्माणका विभिन्न काम गर्न सकिन्छ भन्ने यो एउटा गतिलो उदाहरण हो । वडाको बजेटले मात्र सम्पूर्ण विकास निर्माणका काम गर्न असम्भव भएकाले श्रमदान अभियान सुरु गरिएको हो, यसलाई अझै निरन्तरता दिईने छ ।’
वडाले सञ्चालन गरेको अभियानमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई, वडाका स्थानीय जनप्रतिनिधीहरु, शिक्षक, स्थानीय लगायतको उत्साहजनक सहभागिता रहेको थियो ।