साल्पासिलिछोको १३ औँ गाउँसभा सम्पन्न, ३८ करोड १३ लाख बराबरको बजेट सार्वजनिक


भोजपुर, १० असार । ‘विद्युत्, कृषि, शिक्षा, स्वास्थ्य पर्यटन,पूर्वाधार, समुन्नत साल्पासिलिछोको आधार’भन्ने नाराका साथ साल्पासिलिछो गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ३८ करोड १३ लाख ९४ हजार आठ सय रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।

सभा मार्फत चालु तर्फ २६ करोड ८२ लाख ४४ हजार आठ सय र पुँजीगत तर्फ ११ करोड ३१ लाख ५० हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष अस्मिता राईले सार्वजनिक गरेकी हुन् । सडक भौतिक पूर्वाधार विकास, पर्यटनको क्षेत्रमा आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको उपाध्यक्ष राईले बताइन् ।

 

गाउँसभाले भौतिक पूर्वाधार तर्फ प्रशासकीय भवन र सभाहल निर्माण, याक्सा नागदह मोटरेवल पुल निर्माण, वडा नं १ र ४ वडा भवन निर्माणलाई प्राथमिकतामा प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए । त्यस्तै फलफुलसँगै सुन्तला खेती विस्तार गरी जुस प्रशोधन उद्योग स्थापना गरेर बजारमा आउने पेय पदार्थ प्रतिस्थापन गर्ने,एक टोल एक उत्पादन, एक वडा एक विशेष उत्पादन, एक विद्यार्थी १० फलफुल विरुवा रोप्ने अभियान मार्फत स्वाआर्जन अभिबृद्धि गर्ने, ओखर खेती विस्तार र प्रवद्र्धन गर्ने कार्यक्रम अघि सारेको छ । त्यस्तै साल्पासिलिछो क्षेत्रमा जैविक विविधता अध्यायन कार्यक्रम, श्रम अभियान मार्फत गाउँपालिकाको मुख्य सडक स्तरोन्नती, ई–लाईब्रेरी सञ्चालन,किसानलाई हाते ट्याक्टर वितरण वितरण, लम्की रोग विरुद्ध अभियान सञ्चालन लगायत कार्यक्रम सञ्चालन नीति तयार गरेको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

केन्द्र सरकार र प्रदेश सरकारबाट आउने बजेट कटौती हुँदा योजना सञ्चालन तथा व्यावस्थापनमा असहजता भएको गाउँपालिका अध्यक्ष दौथल कुलुङले बताए । सिमित बजेटमा पनि स्थानीयका अधिकतम आवश्यकतालाई समेट्ने कोशिस गरिएको अध्यक्ष कुलुङको भनाइ छ ।

‘जनताका असिमित आवश्यकतालाई गाउँपालिकाको बजेटबाट समेट्न निकै चुनौति छ’ अध्यक्ष राईले भने,‘बजेटमा यहाँको समग्र क्षेत्रलाई समेट्ने गरी तयारी गरिएको छ । अव बजेटको कार्यान्वयनमा जोड दिन्छौँ ।’ सभाले विनियोजन विद्येयक २०७९ र आर्थिक संधोधन विद्येयक सर्वसम्मत रुपमा पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार