टेम्केमैयुङको १४ औँ गाउँसभा सम्पन्न, ५२ करोड बराबरको बजेट सार्वजनिक


भोजपुर, १० असार । ‘कृषि पर्यटन, साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने नाराका साथ टेम्केमैयुङ गाउँपालिकाको १४ आँै गाउँसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ५२ करोड ५७ लाख ९२ हजार एक सय ७० रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।

सभा मार्फत चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सार्वजनिक गरेकी हुन् । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष राईले सडक तथा भौतिक पूर्वाधारको विकाससँगै कृषिलाई पहिलो प्राथमिकतामा राखिएको बताइन् । कृषि उत्पादनमा जोड दिँदै बजारीकरणमा ध्यान दिने, गाउँपालिकालाई दूध र मासुमा आत्मानिर्भर बनाउने, एक घर एक करेसाबारी कार्यक्रमलाई जोड दिने, गाउँपालिकामा चिलिङ भ्याट सहितको डेरी स्थापना गर्ने, कृषकलाई उत्पादनमा आधारित अनुदानमा जोड दिने लगाएत विभिन्न कार्यक्रम समेटिएको जानकारी दिइन् । त्योसँगै सडक भौतिक पूर्वाधार विकास, पर्यटनको क्षेत्रमा आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको उपाध्यक्ष राईले बताइन् ।

सभाले विनियोजन विद्येयक २०७९ र आर्थिक संधोधन विद्येयक सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय सन्दिप न्यौपानेले जानकारी दिए । गाउँसभाले टेम्केमैयुङ गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विद्येयक २०७९, प्राविधिक कर्मचारी फिल्ड भक्ता कार्यविधि २०७९, उन्नत जातका पशुपन्छी वितरण तथा व्यावस्थापन कार्यविधि २०८०, टेम्केमैयुङ गाउँपालिकाको कर्मचारी तह बृद्धि सम्बन्धी कार्यविधि २०८०, टेम्केमैयुङ गाउँपालिकाको सार्वजनिक खरिद नियमावली २०८०, साना सिंचाई योजना सञ्चालन निर्देशिका २०८० र कर्मचारी प्रोत्साहन भक्ता कार्यविधि, २०७५ पहिलो संशोधन पारित गरेको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।


गाउँपालिकाको आम्दानीको दायर कमजोरसँगै केन्द्र सरकार र प्रदेश सरकारबाट आउने बजेट कटौती हुँदा योजना सञ्चालन तथा व्यावस्थापनमा समस्या भएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । स्थानीयबाट धेरै योजनाको माग भएपछि माग अनुसारको योजना सञ्चालनमा कठिनाई भएकाले जनप्रतिनिधिहरुले जनताको गालि खानुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष बस्नेतको भनाइ छ । जनताको तर्फबाट आएका गुनासाहरुलाई सवै जनप्रतिनिधिहरुले उचित ढंगले सम्बोधन गर्दै बजेट अभावमा गाउँपालिकाले सोचे अनुरुप योजना सञ्चालन गर्न नसकेको बारेमा प्रष्ट पार्न आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।

‘यो वर्ष जनताबाट माग भएअनुसारका योजना सञ्चालनमा समस्या भएको छ’ अध्यक्ष बस्नेतले भने,‘सरकारबाट आउने बजेट कटौती हुँदा धेरै हामीलाई योजना छनौट गर्न सकस परेको छ । काम सम्पन्न भएका योजनाहरुको दायित्व सिर्जना भएको अवस्था छ । जनताले माग गरेका धेरै योजनाहरु समेट्न सकिएको छैन् । जसको कारण जनताले गाउँपालिका प्रति आक्रोश पोखेको अवस्था पनि छ । हामी जनप्रतिनिधिहरुले गाउँपालिकाको बाध्यतम्क अवस्थाको बारेमा जनतालाई बुझाउन आवश्यक छ ।’’

गाउँपालिकाले गौरवको कार्यक्रम अन्तर्गत दूध मिसन कार्यक्रम सञ्चालनमा ल्याउने अध्यक्ष बस्नेतको भनाइ छ । यो कार्यक्रम अन्तर्गत किसानलाई समेटेर उनीहरुको आयस्तरमा बृद्धिमा जोड दिने उनको भनाइ छ । गाउँपालिकामा आधुनिक उपकरण सहितको डेरी स्थापना गरेर दूधमा आत्मानिर्भर बनाउने लक्ष्य रहेको अध्यक्ष बस्नेतको भनाइ ।

गाउँसभाका सदस्य तथा वडा न. ५ खावाका वडाध्यक्ष सुनिल राईले सरकारले स्थानीय तहमा पठाउने बजेट वैज्ञानिक नरहेको बताए । सरकारले स्थानीय तहमा पठाउने बजेटको मापदण्ड परिवर्तन नगरेसम्म स्थानीय तहरुले सोचे अनुसारले विकासका गतिविधि बढाउन नसक्ने उनको भनाइ छ । सरकारले आन्तरिक श्रोतको आधारमा बजेट पठाउने व्यवस्थालाई परिवर्तन नगरेसम्म दुर्गम क्षेत्रका स्थानीय तहले कठिनाई भोग्नु पर्ने उनको भनाइ छ ।

‘सरकारले स्थानीय तहलाई विनियोजन गर्ने बजेट वैज्ञानिक छैन’ वडाध्यक्ष राईले भने,‘आन्तरिक श्रोतको आधारमा बजेट पठाउने प्रणाली परिवर्तन गर्न आवश्यक छ । जुन स्थानीय तहको आन्तरिक श्रोत कम छ त्यस्ता स्थानीय तहलाई दिने बजेटलाई बढाउन आवश्यक छ । सरकारले जुन स्थानीय तहमा आन्तरिक श्रोत बढी छ त्यहा नै बढी बजेट पठाउने गरेको अवस्था छ । यसले हाम्रो जस्ता कम आन्तरिक श्रोत भएका स्थानीय तहलाई मार परेको अवस्था छ । यो प्रणालीलाई सच्याउन पहल गर्न आवश्यक छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार