पौवादुङमा पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा


भोजपुर, २ जेठ ।
यहाँको पौवादुङमा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता स्थानीय तह घोषणा भएको छ । राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
सरोकारवाला निकायको उपस्थितिमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

आगामी दिनमा खोपको दिगोपनाको लागिसमेत निरन्तर काम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताए ।‘हाम्रो स्थानीय तह पूर्ण खोप,दिगोपना सुनिश्चितता स्थानीय तह घोषणा गरेका छौँ । यहाँका खोप लगाउने सबै उमेर समुहका बालबालिकाले खोप लगाएको निश्चित भएपछि पूर्ण खोपयुक्त घोषणा गरिएको छ । यसको दिगोपनाको लागि निरन्तर काम भईरहन्छ ।’


सवै सरोकारवाला पक्षको समन्वयमा गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्न सफल भएको जनाइएको छ । खास गरेर गाउँपालिकाले शिशु मृत्युदर न्युनिकरण गर्न घरमा हुने प्रशुतिलाई शुन्यमा झार्दै पोषणको क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिकाको भनाइ छ । यहाँ विभिन्न सचेतनामुलक कार्यक्रम तथा स्वास्थ्य शिविर मार्फत स्थानीयलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दै आएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।
‘‘हामीले बालबालिका तथा महिला स्वास्थ्यको क्षेत्रमा योजनाबद्ध रुपमा काम गर्दै आएका छौँ’’ उपाध्यक्ष राईले भनिन्,‘ स्वस्थ्य बालबालिकाको जन्मको लागि गर्भवती महिलाको स्वास्थ्यमा विषेश ध्यान दिएका छौँ । हामीले यहाँ पोषणा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ । हाम्रो मुख्य लक्ष्य नै घरमा हुने प्रशुतिलाई शुन्यमा झार्दै स्वस्थ्य शिशु जन्माउन प्रोत्साहन गर्ने हो।’


घोषणा कार्यक्रम मार्फत खोपको महत्वका विषयमा जानकारी दिइएको छ । राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका ६ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चिता पालिका घोषणा गरिएको गाउँपालिकाको भनाइ छ । योसँगै गाउँपालिकाले नागरिकको स्वास्थ्यको क्षेत्रमा योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
‘सबैको पहल कदमीमा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएका छौँ’ अध्यक्ष राईले भने,‘समुन्नत स्थानीय तह बनाउन त्यहाँका नागरिक स्वास्थ्य र सक्षम बन्नु अपरिहार्य छ । बालबालिका हाम्रा भविष्यका कर्णधार हुन् । उनीहरुको स्वास्थ्यमा विषेश ध्यान दिएका छौँ । नागरिकलाई सहज स्वास्थ्य सेवाको पहँुच विस्तारमा हामीले नमूनायोग्य काम गर्दै आएका छौँ ।’


यहाँका सवै वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्यायले जानकारी दिए । पालिका पूर्ण खोपयुक्त सुनिश्चिता भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिएको उपाध्यायको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार