भोजपुर, ३० वैशाख ।भौगोलिक रुपमा जिल्लाको विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको तीन स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित रहेका यहाँका तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सञ्चालनमा ल्याएको हो । सामान्य स्वास्थ्य सेवा लिन एक दिनसम्मको यात्रा गर्नु पर्ने स्थानीयको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाले सडकसम्म विस्तार नभएको ओखरबोटे र याङ्माका स्थानीयलाई लक्षित गरेर वडा न. ६ याङमा र थुम्लुङ भन्ने स्थानमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको छ । त्यस्तै वडा नं ३ को तालखर्कमा पनि स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए । इकाई स्थापना गरेर तीन स्थानबाट सेवा सुचारु गरिएको उनको भनाइ छ ।
‘‘हाम्रो गाउँपालिका भौगोलिक रुपमा विकट छ’’ प्रशासकीय अधिकृत अधिकारीले भने,‘‘यहाँका नागरिकलाई सामान्य स्वास्थ्य उपचार पाउन नै मुस्किल छ । नागरिकहरुलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह थालेका छौँ । हालसम्म तीन स्थानमा स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गरेका गरिरहेका छौँ।’’ गाउँपालिकाबाट दर्वन्दी सृजना गरेर प्रत्येक स्वास्थ्य इकाईमा एक÷एक जना अहेव, अनमी र कार्यालय सहयोगी राखिने प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
छ ओटा वडा रहेको यो गाउँपालिकामा वडास्तरिय एक÷एक ओटा स्वास्थ्य चौकी भएपनि भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । तत्काललाई तीन ओटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह थालेको उनको भनाइ छ । अन्य स्थानमा पनि स्थानीयको सहजताको लागि आवश्यकताको आधारमा स्वास्थ्य इकाई स्थापना गर्ने योजना रहेको उनले जानकारी दिए ।
‘‘ हाम्रो गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवाको अति नै समस्या छ’’अध्यक्ष कुलुङले भने,‘‘ भौगोलिक रुपमा निकै विकट क्षेत्र पनि छन् । जहाँबाट वडामा रहेको स्वास्थ्य चौकीमा पुग्न नै घण्टौँ हिड्नु पर्ने अवस्था छ । नागरिकलाई सहज आधारभुत सेवा दिन हामीले पहल थालेका छौँ ।’’
स्वास्थ्य इकाई स्थापनासँगै दुर्गमका नागरिकलाई सहज सेवा दिन समय÷समयमा शिविरको आयोजना गरेर स्वास्थ्य सेवा दिने गरेको अध्यक्ष कुलुङको भनाइ छ । आफु निर्वाचित भएर आएपछि स्वास्थ्य, शिक्षासँगै यहाँको सडक, विद्युत्, पूर्वाधार लगायतको विकासमा योजनाबद्ध थालनी गरेको उनको भनाइ छ ।
‘‘विविध समस्यालाई झेल्दै यहाँको बृहत्तर विकासमा जुटेका छौँ’’ उनले भने,‘‘ योजनाको प्राथमिकता निर्धारण गरेर योजनाबद्ध विकासमा ध्यान दिएका छौँ । पाँच वर्षमा यहाँका नागरिकले केहि न केहि विकासको अनुभूति गर्न सकुन भन्ने हाम्रो लक्ष्य छ ।’’
गाउँपालिकाले नागरिकलाई सहज रुपमा स्वास्थ्यसँगै आधारभूत सेवा पु¥याउन भूमिका खेलिरहेको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले बताईन । स्थानीयलाई सहज हुने गरी सेवा प्रवाहमा ध्यान दिइने उनको भनाइ छ । खास गरेर महिलाको स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरेर पनि विभिन्न खालका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।
‘‘हामीले सेवा प्रवाहमा सहजता थप्ने गरी काम गरेका छौँ ’’ उपाध्यक्ष राईले भनिन्,‘‘सहज रुपमा आधारभूत स्वास्थ्य सेवा पाउनु नागरिकको अधिकार पनि हो । राज्यले दिएको सेवा सुविधालाई जनस्तरमा पु¥याउन लागि परेका छौँ ।’’
स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी भएका छन् । यहाँका स्थानीयलाई सामान्य घाउचोटसँगै सिटामोल लिनको लागि पनि तीन घण्टादेखी एक दिनसम्म लाग्ने गरेको छ । सामान्य प्राथमिक स्वास्थ्य उपचार नपाउदा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको वडा न. ६ याङमाका स्थानीय विर्खबहादुर राईले बताए । सामान्य बाहेकका अन्य उपचार लिनका लागि भोजपुर सदरमुकाम तथा संखुवासभा जानु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।‘‘ स्वास्थ्य इकाइ स्थापनाले सहजता थपिएको छ’’ उनले भने ,‘‘हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । शहरका अस्पताल पुग्न धेरै कठिन छ । वडामा रहेको स्वास्थ्य चौकी पुग्न नै तीनदेखी चार घण्टा लाग्छ ।’’
स्वास्थ्य इकाई स्थापनाले विरामी हुँदा सिटामोल तथा जीवनजल पाउन घण्टाँै धाउनु पर्ने अवस्थाको अन्त्य भएको वडा नं ३ तालखर्कका स्थानीय दिलकुमार राईले बताए । स्वास्थ्य इकाई स्थापनाले वर्षौँदेखी स्थानीयले भोग्दै आएको समस्याको अन्त्य हुनेमा आशावादी रहेको उनको भनाइ छ ।
‘‘लामो समयदेखी स्वास्थ्य सेवामा समस्या भोग्दै आएका थियौँ’’ उनले भने,‘‘अहिले गाउँमा नै स्वास्थ्य इकाई सञ्चालन भएको छ । यहि स्वास्थ्य परिक्षण गराउन पाउदा खुसी लागेको छ । गाउँपालिकाले गरेको यो काम प्रशांसायोग्य छ । ’’
सामान्य औषधि लिनसमेत घण्टौं पैदल हिड्नु पर्दा अकालमा ज्यान जाने अवस्था रहेको वडा ६ थुम्लुङका स्थानीय हेमराज राईले बताए । वर्षात याम शुरुभएपछि यातायात सेवा पूर्ण रुपमा बन्दा हँुदा झनै समस्या हुने गरेको उहाँको भनाइ छ ।
‘‘हाम्रो थुम्लुङ क्षेत्रमा स्वास्थ्यको असाधै समस्या छ’’ उनले भने ,‘‘वषौंबाट यहि समस्या भोग्दै आएका छौँ । यो भेगका मानिसहरुलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था थिएन ।यहाबाट गाउँपालिका केन्द्र चौकी डाँडा पुग्न नै छ देखी सात घण्टासम्म लाग्छ । वर्षात शुरु भएपछि यातयात सेवा ठप्प हुन्छ । अव भने सामान्य स्वास्थ्य उपचार र औषधि लिनको लागि अन्य ठाउँमा जानु पर्ने बाध्यता हटेको छ ।’’
शुक्रबार वडा न ६ याङमामा स्थापना भएको स्वास्थ्य इकाईको गाउँपालिका अध्यक्ष दौलथ कुलुङ, उपाध्यक्ष अस्मिता कुलुङ, प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारी र वडाध्यक्ष विक्रम बनसन्यासीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।