भोजपुर, ३० चैत । यहाँको पौवादुङमा गाउँपालिकाले तीन सय बढी कृषकलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यले कृषकलाई प्रोत्साहनको कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाले आवेदन माग गरेर उनीहरुको मागको आधारमा सामग्री वितरण गरेको जनाएको छ । कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा रु. एक लाख ४८ हजार बराबरको २६ थान प्लाष्टिक टनेल, रु.दुई लाख ६० हजार बराबरको ६० थान इलेक्ट्रिक स्पेरियर र रु.दश लाख बराबरको दुई सय ५० थान मल्चिङ प्लाष्टिक वितरण गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सुदिप मरासैनीले जानकारी दिए । योसँगै गाउँपालिकाले कृषकलाई विभिन्न समयमा विउ विजन, विषादीसँगै आवश्यक प्राविधिक सहयोगसमेत गर्दै आएको उनको भनाइ छ ।
‘‘हामीले किसानको मागको आधारमा तीन सय बढी कृषकलाई सामग्री हस्तान्तरण गरेका छौँ’’ उनले भने,‘‘किसानहरुलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्न सामग्री वितरण गरेको हौँ ।’’ किसानले गरिरहेको व्यावसायको आधारमा उनीहरुलाई आवश्यक सहयोग गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताए । तरकारी तथा नगदेबालीमा लागेका किसानलाई कृषि सामग्री र कुखुरा, बाख्रा तथा व्यावसायिक बंगुरपालन गर्ने किसानलाई पनि प्रोत्साहन गरिएको उनको भनाइ छ ।
‘‘हामीले किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्दै आएका छौँ’’ प्रशासकीय अधिकृत भट्टराईले भने,‘‘उहाँहरुको आवश्यकतालाई आधार मानेर सहयोग गरिरहेका छौँ । सुख्खा क्षेत्र भएपनि हामीले विभिन्न खाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै यहाँको कृषि उत्पादन बाह्य बजारमासमेत जान थालेको छ ।’’ यहाँको भूगोल अनुसार पकेट क्षेत्र निर्धारण गरेर कृषिमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई कृषिमा नमूना बनाएर यहाँको उत्पादित बस्तुको बजारीकरणमासमेत भूमिका खेल्ने गाउँपालिका अध्यक्ष किरण राईले बताए । ‘‘कृषि क्षेत्रको दिगो विकासले मात्र यहाँको किसानलाई आर्थिक रुपमा सक्षम बनाउन सकिन्छ’’ अध्यक्ष राईले भने,‘‘ हामी कृषिको योजनाबद्ध विकासमा जुटेका छौँ । हाम्रो ठाउँमा सिँचाईको अत्यन्तै समस्या छ । किसानलाई आवश्यक सहयोग गरेर प्लाष्टिक पोखरी वितरण गरेका छौँ । सिँचाइमा आवश्यक सहयोग गरेपछि यहाँको उत्पादन बाह्य बजारमासमेत जाने गरेको छ ।’’
गाउँपालिकाले कृषि सामग्रीसँगै आवश्यक सहयोग गरेपछि व्यावसायिक कृषिमा लाग्न सहयोग पुगेको स्थानीय कृषक राजकुमार दर्जीले बताए । उत्पादन भएको बस्तुलाई बजारीकरणमा गाउँपालिकाले सहयोग गरे अझ सहज हुने उनको भनाइ छ । ‘‘गाउँपालिकाले गरेको सहयोगले हामीलाई कृषिमा लाग्न प्रोत्साहन मिलेको छ’’उनले भने,‘‘ विभिन्न समयमा गाउँपालिकाले कृषि सामग्रीसँगै आवश्यक विउ विजन दिँदै आएको छ । व्यावसायिक कृषिमा लागेर राम्रो आम्दानी गरिरहेको छु । उत्पादन भएको बस्तुको बजारीकरणमा सरकारले सहयोग गरे अझ राम्रो हुने थियो ।’’
पौवादुङमा गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न गरिरहेको काम प्रसंशायोग्य रहेको स्थानीय कृषक लक्ष्मी खत्रीले बताईन । गाउँपालिकाको सहयोगले कृषिमा लाग्न थप टेवा पुगेको उनको भनाइ छ । ‘‘गाउँपालिकाले कृषिको क्षेत्रमा गरिरहेको काम राम्रो छ’’उनले भनिन्, ‘‘ गत वर्ष पनि हामीलाई सहयोग गरेको थियो । यस वर्ष पनि विभिन्न सामग्री हस्तान्तरण गरेको छ । यसले हामीलाई काम गर्न थप सहज भएको छ ।’’
यहाँका कृषिमा लागेका महिलालाई थप प्रोत्साहन गर्न उपाध्यक्ष आत्मानिर्भर कार्यक्रम अन्तर्गत पनि सबै वडाका महिला किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताईन । यो कार्यक्रम अन्तर्गन प्रत्येक वडामा एक÷एक लाखको योजना सञ्चालन गरेको उनको भनाइ छ । ‘‘हामीले यहाँका व्यावसायिक कृषिमा लागेका महिलालाई प्रोत्साहन गर्न पनि विभिन्न काम गरिरहेका छौँ’’ उनले भनिन् ,‘‘महिलाहरुलाई सक्षम बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । मेरो नेतृत्वमा महिला विकास वोर्ड गठन गरेर उहाँहरुलाई प्रोत्साहनमूलक कार्यक्रममा जोड दिएका छौँ । महिलाहरुलाई आयआर्जनसँग जोड्न विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन भइरहेको छ । ’’