टेम्केमैयुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


भोजपुर, २९ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आर्थिक बर्ष २०७९ /०८० को दोश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिका केन्द्र अन्नपूर्णमा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गरे ।

गाउँपालिकाले यो अवधिसम्म चालु तर्फ ४० प्रतिशत र पुँजीगत तर्फ २८ प्रतिशत बजेट खर्च गरेको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिँदै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्थानीय नागरिकबाट आएका सल्लाह सुझावले गाउँपालिकाको आगामी दिनका योजनालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने  बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रमादेवि राईले सार्वजनिक सुनुवाईले गाउँपालिकाको सेवा प्रबाहको बारेमा जनतालई सुसुचित हुन सहयोग पुग्ने बताईन । स्थानीय नागरिकको सल्लाह सुझाब तथा प्रतिकृयाले समृद्ध गाउँपालिका निर्माणमा टेवा पुग्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार