
भोजपुर, २६ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका -२ वादुङलामा स्वास्थ्य इकाईको उद्घाटन गरिएको छ । स्थानीय नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यले स्थापना भएको स्वास्थ्य इकाईको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिन समस्या देखिएपछि गाउँपालिकाले यहाँ स्वास्थ्य इकाइको स्थापना गरेको हो ।
स्वास्थ्य इकाइको गाउँपालिका अध्यक्ष सरोज बस्नेत र उपाध्यक्ष रमादेवी राईले उद्घाटन गरेका हुन् । स्थास्थ्य इकाईमा तत्काललाई एक जना अहेव रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए । यस अघि वडा नं २ मा पर्ने रुमलामा पनि स्वास्थ्य इकाई उद्घाटन भएको छ । यहाँको काङकाङ, खैला, रुमला,पञ्छीका नागरिकलाई लक्षित गरेर स्वास्थ्य इकाई स्थापना गरिएको हो ।
वडा न ५ खावा चोलन्ति र वडा नं १ खम्बुखामा पनि तत्कालै उद्घाटन गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।