भोजपुर, २३ फागुन । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर तीन दिनसम्म शिविर सञ्चालन गरिएको हो । शिविरबाट दुई सय ६३ जनाले ओपीडी र ६६ जनाको आँखाको शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक कमल तामाङले जानकारी दिए । जसमा ५९ जनाको मोतिया विन्दुको र सात जनाको माइनर शल्यक्रिया गरिएको उनको भनाइ छ । खास गरेर दुर्गम भेगका गरिव तथा विपन्न परिवारलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले बताए । ‘‘भौगोलिक विकटताका कारण यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन निकै समस्या छ’’ अधिकृत अधिकारीले भने,‘‘सहज स्वास्थ सेवा दिने लक्ष्यले शिविर मार्फत सेवा दिएका हौँ ।’’ नागरिकलाई सहज सेवा दिन यस वर्ष वडा नं ५ फेदीमा बर्थिङ सेन्टरसहित सामुदायिक स्वास्थ्य केन्द्र र वडा नं ६ थुम्लुङमा पनि सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेको प्रशासकीय अधिकृत अधिकारीले बताए ।
छ ओटा वडा रहेको यो गाउँपालिका भोजपुरको नै भौगोलिक रुपमा विकट रहेको स्थानीय तहको रुपमा लिइन्छ । उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्धेश्यले काम गरिरहेको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । नागरिकस्तरका समस्यालाई ध्यानमा राख्दै शिविरको आयोजना गरिएको उनको भनाइ छ । स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकबाट सेवा दिइएको उनको भनाइ छ ।‘‘नागरिकलाई सहज सेवा प्रदान गर्न गाउँपालिका लागि परेको छ’’ अध्यक्ष कुलुङले भने,‘‘भौगोलिक विकटताका कारण नागरिकलाई सहज स्वास्थ्य सेवा पाउन मुस्किल छ । विभिन्न समयमा शिविरको आयोजना गरेर नागरिकलाई सेवा प्रदान गर्दै आएका छौँ ।’’
यस क्षेत्रका नागरिकलाई सामान्य बाहेक अन्य सेवा लिनको लागि संखुवासभा तथा भोजपुर सदरमुकाम जानु पर्ने बाध्यता छ । आफ्नै ठाउँमा सेवा लिन पाउँदा खुसी लागको वडा १ का ८४ वर्षीय बृद्ध भक्तबहादुर गिरीले बताए । शल्यक्रियापछि आँखा देख्न सक्ने भएको उनको भनाइ छ । ‘‘आफ्नै ठाउँको शिविरमा आएर सेवा लिन पाउदा खुसी लागेको छ ’’ बृद्ध गिरीले भने,‘‘ आँखा जचाउनको लागि संखुवासभा पुग्नु पर्थो । बृद्ध मान्छे यहाँ नै उपचार गराउन पाउँदा धेरै खुसी लागेको छ । गाउँपालिकाले गरेको यो कामले यहि सेवा लिन पाइयो ।’’
जुन दुरीले हिसाबले निकै टाडा रहेको छ । वडा नं ३ मा रहेको जाल्पा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविर गाउँपालिकाको व्यवस्थापन, रानी अस्पताल विराटनगरको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा गरिएको हो ।