षडानन्दमा आयोजित स्वास्थ्य शिविरबाट ६ सय ६३ जनाले सेवा लिए


भोजपुर, २८ माघ । षडानन्द नगरपालिकामा आयोजित दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ६६३ जनाले सेवा लिएका छन् । जसमा आँखाका २१६, दन्त सम्बन्धि २२९, बालरोग ६० र गाईनो तथा ओपिडीमा १५५ जनाले सेवा लिएको षडानन्द नगरपालिकाका स्वास्थ्य संयोजक सुदर श्रेष्ठले जानकारी दिए ।

शिविर षडानन्द नगरपालिका र हेल्पिङ हेन्डस हेल्थ एजुकेशन इन्टरनेस्नलको साझेदारीमा शिविर सञ्चालन गरिएको हो । स्थानीय नागरिकलाई सहज रुपमा विशेषज्ञ डाक्टरहरुको सेवा दिने लक्ष्यले शिविर सञ्चालन गरिएको षडानन्द नगरपालिकाले जनाएको छ । शिविरले विशेष गरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा विपन्न नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुगेको नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताए ।

महिला सम्बन्धि रोगको लागि नगरपालिकाले योजनाबद्ध रुपमा काम गरिएको षडानन्द नगरपालिका उप प्रमुख प्रमिला राईले बताईन् । विशेष गरेर महिलामा देखिने आङ खस्ने लगाएत रोगका लागि थप शिविर सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।

दुर्गमका विरामीलार्इृ लक्षित गरेर नगरपालिकासँगको सहकार्यमा शिविरको सञ्चालन गरेको हेल्पिङ हेन्डस अस्पतालले जनाएको छ । शिविरमा मार्फत आँखाको रोगको पहिचानसँगै निःशुल्क चस्मासमेत वितरण गरिएको अस्पतालका सञ्चालक नारायण श्रेष्ठले बताए । आफ्नो ठाउँमा विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा पाउदा स्थानीय खुसी भएका छन् । शिविरले स्वास्थ्य सेवा लिन भोजपुर सदरमुकाम, संखुवासभा तथा विराटनगर जादै आएका स्थानीयलाई सहजता थपिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार