रामप्रसादराई गाउँपालिकाको एघारौँ गाउँसभा सम्पन्न, तीन करोड बराबरको बजेट पारित


भोजपुर, १० माघ । रामप्रसादराई गाउँपालिकाको ११ औँ गाउँसभा सम्पन्न भएको छ । सुन्दर रामप्रसादराई गाउँ स्वच्छ, सुसंस्कृत र समृद्ध बनाऔँ’ भन्ने मुल नारासहित मंगलबार सम्पन्न भएको गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमको लागि बजेट बिनियोजन गरेको छ । सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको गाउँसभाले तीन करोड १४ लाख ९८ हजार पाँच सय बराबरको बजेट पारित गरेको छ । गाउँसभाले सडकको स्तरउन्नोति तथा विस्तार र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष थाम बहादुर राई (निर्माण) ले जानकारी दिए । यो गाउँसभाले गाउँपालिकाले निर्धारण गरेको अवधिमा सम्झौता नभएका योजनाहरुको मात्र रकामान्तर गरेको अध्यक्ष राईले बताए ।

खास गरेर यो गाउँसभाले विग्रिएका बाटोहरुको मर्मत सम्भार गरेर स्थानीयलाई सहज यातायातको पहुँचमा जोड्ने गरी बजेटको बाँडफाड गरेको अध्यक्ष राईको भनाइ छ । ‘ यो गाउँसभाबाट सडक र शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौँ’  अध्यक्ष राईले भने‘‘हामीले जिल्लामा पहिलो पटक वडा÷वडास्तर पुगेर योजना सम्झौता गरेका थियौँ । त्यो अवधिमा ९७ प्रतिशत योजनाको सम्झौता भएको छ । त्यो समयमा सम्झौता नभएका योजनाहरुको मात्र रकामान्तर गरिएको छ ।’  गाउँपालिकाले गत पौष २५ गतेदेखी माघ ५ गतेसम्म योजना सम्झौता गरी सक्न आह्वान गरेको थियो । गाउँपालिकाले प्राथमिकताका आधारमा सञ्चालन ल्याएका योजनाहरुलाई समय सम्पन्न गराउने गरी कामलाई अघि बढाइएको अध्यक्ष राईको भनाइ छ । सम्झौता भएका योजनाको कामलाई चैत्रमसान्त भित्र सक्ने लक्ष्यका साथ काम गर्ने राईको भनाइ छ ।

‘हामीले सञ्चालन गरेका योजनाहरुलाई गुणस्तरिय ढंगले समयमा सम्पन्न गराउन लागि परेका छौँ’’ अध्यक्ष राईले भने,‘‘ हाम्रो गाउँपालिकामा दुई सय ५० बढी योजनाको लागि बजेट बिनियोजन भएको छ । ती सम्पूर्ण योजनाहरु चैत्र मसान्त भित्र नै सक्ने हाम्रो लक्ष्य छ ।’ गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले गाउँसभामा बजेट प्रस्तुत गरेका थिए । गाउँसभाले गाउँ शिक्षा ऐन संसोधनसहित पारित गरेको छ । त्यस्तै गाउँपालिकाको लिजा सम्वन्धि प्रतिवदेन पेश गरिएको छ । गाउँपालिकाले हालसम्म लिजामा ९३ प्रतिशत अंक ल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार