टेम्केमैयुङ गाउँपालिकाको तेह्रौ गाउँसभा सम्पन्न, तीन करोड बराबरको बजेट पारित


भोजपुर, ५ माघ । टेम्केमैयुङ गाउँपालिकाको तेह्रौ गाउँसभा सम्पन्न भएको छ । कृषि, पर्यटन र संस्कृति पूर्वाधार टेम्केमैयुङ विकासको आधार भन्ने मुल नारासहित विहिबार सम्पन्न भएको गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमको लागि बजेट बिनियोजन गरेको छ । गाउँसभाबाट करिब तीन करोड ७४ लाख बराबरको बजेट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए । गाउँपालिका भवन निर्माणलाई पहिलो प्राथमिकतामा राख्दै ६० लाख र दोश्रोमा खानेपानीलाई राखिएको उनको भनाइ छ । ‘ गाउँपालिका भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छौँ’ प्रशासकिय अधिकृत न्यौपानेले भने, ‘यो भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारको ६० प्रतिशत साझेदारीमा निर्माण गर्ने तयारी गरेका छौँ ।’ यस पटकको गाउँसभामा बिनियोजन गर्ने बजेट थोरै रहेको भएपनि आधारभूत कामलाई प्राथमिकतामा राखेर बजेटको बाँडफाँड गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

‘स्थानीयका धेरै योजनाहरु थिए’ अध्यक्ष बस्नेतले भने, ‘उपलब्ध बजेटलाई अधिकतम सदुपयोग हुने गरी आवश्यकताका आधारमा बजेट विनियोजन गरेका छौँ ।’ गाउँपालिकाको कामलाई गुणात्मक बनाउन जनप्रतिनिहरु लागि परेको बताउदै उनले आफ्ना ठाउँमा रहेका योजनाहरुको स्थानीय आफैँले पनि अनुगमन गर्न आवश्यकता रहेको धारणा राखे । यो पटक सम्बोधन हुन नसकेका योजनाहरुलाई १४ औँ गाउँसभामा समेट्ने गरी बजेटको तर्जुमा गरिनेसमेत उनको भनाइ छ ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सिमित बजेटमा जनताको विकासको मागलाई आवश्यकता र प्राथमिकताको आधारमा समेट्ने गरी बजेटको तर्जुमा गरिएको बताइन् । ‘जनताले विकासको धेरै आशा गरेका छन्,’ उपाध्यक्ष राईले भनिन्,‘जनताका आवश्यकतालाई हामीले समेट्ने कोशिस गरिरहेका छौँ । यो अधिबेशनमा खास धेरै बजेट थिएन । जनताको कारण वडास्तरबाट आएका कतिपय योजनालाई सम्बोधन गर्न नसकेको अवस्था पनि छ । त्यसमा हामीलाई दुःख लागेको छ ।’

गाउँपालिकाको आन्तरिक आयको दायरा कम भएको कारण यो गाउँसभामा जनअपेक्षा अनुसारको बजेट बिनियोजन गर्न समस्या भएको वडा नं ५ वडाध्यक्ष सुनिल राईले जानकारी दिए । गाउँपालिकाको आन्तरिक आयको दायरा बढाउने विषयसमेत छलफल गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार