भोजपुर, १७ असार ।भोजपुरमा जन्मिएकी क्रान्ति योदा योगमायाको नाममा बन्न लागेको ‘योगमाया आयुर्वेद विश्व विद्यालय’ निर्माणको लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । विश्व विद्यालय निर्माणको लागि आवश्यक जग्गा खोजी प्रक्रिया थालनी गरिएको हो । संखुवासभाको खाँदवारी नगरपालिका, ९ को ढुङ्गा विसौनी र षडानन्द नगरपालिका, ६ बट्टार क्षेत्रमा जग्गा खोजी कार्य भइरहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले जानकारी दिए । जग्गा खरिद प्रक्रियाको लागि केन्द्र सरकारबाट विनियोजन भएको रु. सात करोड आएको उदासले बताए । प्रमुख उदासले भने,‘ योगमाया आयुर्वेद विश्व विद्यालय निर्माणको प्रक्रिया शुरु भएको छ । अहिले हामी विश्व विद्यालयले निर्माणको लागि आवश्यक पर्ने जग्गाको खोजीमा छौँ । खादबारी नगरपालिकामा पर्ने जग्गाको खरिद प्रक्रिया शुरु भईसकेको छ । हाम्रो नगरमा पर्ने जग्गाको पनि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’
विश्व विद्यालयले निर्माणको लागि षडानन्द नगरपालिकामा २३३ रोपनी र खादवारी नगरपालिका ३७२ रोपनी जग्गा लिने मन्त्री परिषदको निर्णय भए बमोजिम खोजी प्रक्रिया थालनी गरिएको प्रमुख उदासले जानकारी दिए । योगमाया भोजपुरमा जन्मिएको भएपनि मन्त्री परिषदको निर्णयमा भोजपुरमा भन्दा संखुवासभामा बढी जग्गा खरिद गर्ने निर्णयले षडानन्द नगरपालिका असन्तुष्ट रहेको प्रमुख उदासको भनाइ छ । प्रमुख उदासले भने,‘आवश्यक प्रक्रिया थालनी भयो, तर जग्गा खरिदको प्रक्रिया हाम्रो लागि न्यायोति देखिदैन । किनभने योगमायाको जन्म नै भोजपुरमा भएको हो तर जग्गा भने संखुवासभामा बढी खरिद गर्ने भन्ने उल्लेख छ । हाम्रो तर्फबाट दुवै क्षेत्रमा जग्गा बराबरी खरिद हुनु पर्छ भन्ने मेरो माग छ । त्यस्तै बन्ने संरचना पनि भोजपुर क्षेत्रलाई प्राथमिकतामा राखेर बन्नुपर्छ भन्ने षडानन्द नगरपालिकाको भनाइ छ । ’
जग्गा खरिद गर्नको लागि रु. सात करोड रकम संखुवासभा जिल्ला प्रशासन कार्यालयमा आएको उनले जानकारी दिए । भोजपुरका तर्फबाट केहि कमजोरी भएको उदासको भनाइ छ ।‘‘ हाम्रो क्षेत्रको जग्गा खरिदको लागि आएको रकम पनि संखुवासभा जिल्ला प्रशासनमा आएको छ । खासमा षडानन्द नगरपालिकाका यस अघिका जनप्रतिनिधिले समयमा माग पत्र पेश गर्न नसक्दा यस्तो भएको छ । त्यो वेला अलिकति प्राथमिकताका साथ काम गरिदिएको भए हाम्रो जिल्ला प्रशासन कार्यालयबाट नै खरिद रकम भुक्तानी गर्न सकिन्थ्यो । त्यो नहुँदा हाम्रो क्षेत्रको जग्गा खरिदको रकम पनि संखुवासभाले भुक्तानी गर्नु पर्ने अवस्था छ ।’षडानन्द नगरपालिकाको तर्फबाट योगमायाको समाधि स्थल मजुवबेँसीमासमेत आवश्यक जग्गा खरिद गरेर संरचना निर्माण गर्नु पर्ने माग रहेको उनले बताए ।
भोजपुर तर्फको जग्गा विश्व विद्यालयको नाममा प्राप्ती गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर निर्णय गरी कामको थालनी गरेको उनले जानकारी दिए ।
‘योगमायाको योगदानको कदर गर्दै सरकारले थालेको कामको पूर्णताको लागि नगरपालिका गम्भिर भएर लागेको छ । मेरो अगुवाईमा अहिले हाम्रो तहबाट गर्नु पर्ने कामको थालनी भएको छ’ प्रमुख उदासले भने,‘केहि क्षेत्र संखुवासभासँग जोडिएकोले खादवारी नगरपालिका र त्यहाँको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कामका गतिविधि अघि बढाएका छौँ । जग्गा खोजीको प्रक्रिया चाडै नै समाधान गर्नेमा हामी प्रतिवद्ध छौँ ।’ संखुवासभामा विश्व विद्यालयको नाममा जग्गा पास थालिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । हालसम्म २२ रोपनी जग्गा पास भइसकेको र यो पक्रिया चाडै नै सम्पन्न गराउने लक्ष्य रहेको उनले बताए । पहिला भएको सम्झौता अनुसार संखुवासभामा प्रति रोपनी एक लाखका दरले जग्गा खरिद गरिएको उनको भनाई छ । भोजपुरका जग्गा धनिले भने प्रति रोपनी रु. ५० हजार पाउने गरी पहिला नै सम्झौता भएको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी खतिवडाले भने,‘ हाम्रो जिल्लामा जग्गा खरिद प्रक्रिया शुरु भइरहेको छ । २२ रोपनी जग्गा त विश्वविद्यालयको नाममा पास भइसक्यो । पहिला भएको सम्झौता अनुसार संखवासभाका जग्गा धनिले प्रति रोपनी रु. १ लाख र भोजपुरका रु. ५० उल्लेख छ । भोजपुरका नागरिकले पहिला नै प्रति रोपनी ५० हजारमा दिन्छौँ भनेका रैछन् त्यहि भएर मुल्यमा फरक भएको हो । भोजपुरका नागरिकले जग्गा पास गरेपछि त्यहाँको जिल्ला प्रशासनको सिफारिसमा हामी नै उनीहरुलाई भुक्तानी दिन्छौँ ।’
भोजपुर तर्फको २३३ रोपनी र संखुवासभाको ३७२ गरी ६०५ रोपनी खरिद गर्ने र अपुगमा सरकारी जमिनलाई पनि प्रयोगमा ल्याउने प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ । दुवै जिल्लाको जग्गा खरिद प्रक्रिया सपन्न भएपश्चात विश्व विद्यालयको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार गरेर निर्माण प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए । डीपीआर बनेपछि कुन जिल्लामा कति र कस्ता संरचना बन्ने भन्ने टुङ्गो लाग्ने उनको भनाइ छ ।
‘दुई जिल्लाको समन्वयमा जग्गा खरिद प्रक्रिया भइरहेको छ । दुई जिल्लामा जग्गा खरिद गर्नु पर्ने भएकाले कुन क्षेत्रमा कति संरचना बन्छन् भन्ने यकिन भएको छैन । विश्व विद्यालयको पूर्ण विस्तृत परियोजना प्रतिवेदन बनेपछि निर्माणको प्रक्रिया शुरु हुन्छ । त्यसपछि कस्ता संरचना कति ओटा कहाँ बन्छन् भन्ने कुराको टुङ्गो लाग्छ ।’ प्रजिअ खतिवडाले भने ।
सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योदा योगमायाको जन्म विक्रम सम्वत १९१७ सालमा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडामा भएको हो । देशमा जगडिएको सतिप्रथा अन्त्यको लागि पटक÷पटक तत्कालिन राणा सरकारसँंग माग गर्दा पनि कुनै निर्णय नभएपछि योगमायासहित ६८ जनाले समाधी लिएका थिए । सतिप्रथा, छुवाछुत प्रथा अन्त्यको लागि आफ्नो अभियानको नारा लगाउदै विक्रम सम्बत १९९८ साल असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेका थिए । उनीहरुले समाधी दिएको ठाउँ षडानन्द नगरपालिका – ६ को मजुबेँसीमा पर्दछ ।