पौवादुङमाले उत्कृष्ट अंक ल्याएर राम्रो विषय पढ्न चाहने विद्यार्थीलाई अध्ययन खर्च दिने


भोजपुर, ११ असार ।
पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर विज्ञान तथा एम.वी.वी एस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ ।
शिक्षा क्षेत्रको विकासमा योगदान गरेर दक्ष नागरिक उत्पादन गर्न गाउपालिकाले यस्तो नीति अघि सारेको हो । त्यसरी पढ्ने विद्यार्थीले शिक्षा पुरा गरी सकेपछि गाउँपालिकामा सेवा गर्ने प्रतिवद्धता जनाउनु पर्नेछ ।
‘खानेपानी, सडक, विद्युत्, कृषि, पर्यटन, सञ्चार, खेलकुद, स्वास्थ्य, शान्ति सुरक्षा र शिक्षा पौवादुङमाबासीहरुलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने मुल नाराका साथ शुक्रबार सम्पन्न भएको दोश्रो गाउँसभा तथा प्रथम अधिबेशनले यस्तो नीति सार्वजनिक गरेको हो । विद्यार्थीहरुमा उत्पेरणा थप्ने लक्ष्यले यस्तो व्यवस्था लागु गर्न लागेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

अध्यक्ष राईले भने,‘ गाउँपालिकाले विद्यार्थीहरुमा पढाई प्रतिको लगाब बढाउनको लागि अध्ययन खर्चको व्यवस्थापन गर्ने नीति लिएको छ । एसईईमा उच्च अंक ल्याएर राम्रो विषय पढ्न चाहने विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएका छौँ । तर त्यस्ता विद्यार्थीहरुले केहि समय गाउँपालिकाको विद्यालय तथा अस्पतालमा अनिवार्य रुपमा सेवा गर्नु पर्नेछ । यसको कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउछौँ ’
गाउँसभा मार्फत खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।गाउँसभाले तयार गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी आर्थिक बर्ष २०७९/८० को लागि जम्मा ४१ करोड दुई लाख ७६ हजार १० रुपैयाँ बराबरको अनुमानित बजेट तयार गरेको हो ।
चालु तर्फ शिक्षा, स्वास्थ्य कृषिसमेतको २५ करोड ५८ लाख ७६ हजार र पुँजीगत तर्फ १५ करोड ४४ लाख रुपैयाँ खर्च हुने अनमान गरिएको कार्यक्रमहरुको सार्वजनिक गर्दै उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् । जसमा पुँजीगत तर्फ ३७ दशमलव ६४ र चालु तर्फ ६२ दशमलव ३६ प्रतिशत बजेट विनियोजन भएको छ ।
बजेटमा खानेपानी पहिलो र सडक विस्तारलाई दोश्रो प्राथमिकतामा राखिएको छ । अध्यक्ष राईले जनताको भावना र चाहना समेट्ने गरी बजेट निर्माण गरिएको जानकारी दिए ।
नीतिमा प्रत्येक घरमा मिटरसहितको एक घर एक धारा जडान गर्ने, तिवारीभञ्याङ– अधेँरीघाट पञ्चकञ्या सडकलाई प्रदेश र केन्द्र सरकारसंग सहकार्य गरेर अवको पाँच वर्ष भित्रमा कालोपत्रे गर्ने गरी काम गर्ने, आधारभूत तहमा पौवादुङमाको गौरव, संस्कृति, सभ्यता, मुल्य मान्यता र एकताको सम्बद्र्धन एक स्वास्थ्य तथा नैतिक जीवनशैली जस्ता विषय समावेश गरी स्थानीय पाठ्क्रम निर्माण गरी कार्यन्वनमा ल्याउने नीति लिएको छ ।
एक गाउँ एक उत्पादन कार्यक्रमलाई निरन्तरण दिईने, सामुहिक कृषि गर्ने र बाँझो रहेका जमिनहरुमा ठुला कृषि फर्महरु सञ्चालन गरी राम्रो गर्ने फर्म वा कृषकहरुलाई प्रोत्साहन गर्ने, जमिनको उत्पादकत्व र भूमिको प्रकारको आधारमा विभिन्न वडाहरुमा कृषि पकेट क्षेत्रका कार्यक्रम सञ्चालन गर्ने लगाएतको कार्यक्रम समेटिएको छ ।
त्यस्तै गाउँपालिका भित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रको पहिचान गरी विकास गर्ने अध्यक्ष राईले जानकारी दिए । राईले भने,‘समृद्ध पौवादुङमा गाउँपालिका निर्माण गर्ने महान लक्ष्यका साथ नीति तथा कार्यक्रम तयार गरेका छौँ । सवै क्षेत्रको समान विकास लागि बजेटबाट समेट्ने प्रयत्न गरेका छौँ। यसले गाउँपालिकाको विकासमा टेवा पुग्ने मैले अपेक्षा लिएको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार