भोजपुर,८ बैशाख । भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठुलोदुम्माका वडाध्यक्ष दिपक साम्पाङले जनतालाई दिएको प्रतिवद्धता पत्रमा भएको काम मध्ये ९० प्रतिशत काम पुरा गरेको दावी गरेका छन् । अध्यक्ष राईले आफुले स्थानीय जनताको समस्यालाई नजिकबाट नियालेर काम गरेकोले अपेक्षित उपलब्धी हासिल गर्न सफल भएको बताएका छन् । उनले सडक, कृषि, खानेपानी, विद्युत् विस्तार, तथा स्वास्थ्य शिक्षामा नमूनायोग्य काम गरेको बताए । अध्यक्ष राईले भने,‘मैले जनताको अपेक्षा अनुसार काम गरेको छु । जनतालाई दिएको बचनलाई ध्यानमा दिएर काम गरे । यदि कसैले मेरो कामको बारेमा प्र्रश्न उठाए, म पाँच वर्ष अघि तयार गरेको घोषणा पत्र अर्थात प्रतिवद्धता पत्र राखेर जबाफ दिन तयार छु ।’
आफ्नो कार्यकालमा कक्षा पाँचसम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको राईको भनाइ छ । त्यस्तै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक सामग्री वितरणदेखि वर्षमा विद्यार्थीलाई एक जोर पोशाक वितरण कार्यक्रमसमेत सञ्चालन गरेको राईले बताए । अध्यक्ष राईले भने,‘ मैले जनप्रतिनिधि हुनु पूर्व विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्ने अवसर पाए । त्यति बेला मैले विद्यालय तथा विद्यार्थीहरुको समस्या पहिचान गरे । मैले वडाको जिम्मेवारी पाएपछि शैक्षिक सुधारका लागि काम गरे । जुन कामले स्थानीयमा उत्साह थपिएको छ भने विद्यालयमा विद्यार्थीहरुको चाप बढेको छ ।’
त्यस्तै स्वास्थ्य क्षेत्रको विकासका लागि भौतिक निर्माणसँगै विभिन्न कार्यक्रम सञ्चालन गरेको राईले बताए । उनले स्थानीय गर्भवती महिलाको स्वास्थ्यलाई ध्यान राख्दै रातोभाले, सुत्केरी पूर्व खुत्रुके बचतको कार्यक्रम सञ्चालन गरेको राईको भनाइ छ । अध्यक्ष राईले भने,‘ मैले स्थानीय जनताको स्वास्थ्यलाई ध्यानमा राखेर जनमुखी कार्यक्रम सञ्चालन गरेको छु । मैले खास गरेर नयाँ कार्यक्रमको रुपमा सुत्केरी पूर्व खुत्रुके बचत कार्यक्रम सञ्चालन गरेको हुँ । यो कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी भएबापत सुत्केरी महिलाले दुई हजार गर्छिन् र वडा कार्यालयले पनि दुई हजार जम्मा गरिदिन्छ । जसको लागि मैले स्वास्थ्य संस्थामा खुत्रुके राखी दिएको छु ।’
त्यस्तै गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिए अनुसार महिलाले स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराए बापत प्रत्येक जाँचमा एक क्यारेट अण्डासमेत दिदै आएको उनको भनाइ छ । सुत्केरी महिलाको लागि रातोभाले कार्यक्रमसमेत सञ्चालनमा रहेको राईले जानकारी दिए ।
अध्यक्ष राईले आफ्नो वडामा योजनाबद्ध रुपमा कृषिको विकासका लागि काम गरिरहेको बताए । त्यस्तै आफ्नो कार्यकालयमा वडाको ५० प्रतिशत भू–भागमा विद्युत् विस्तार गर्न सफल भएको बताए । त्यस्तै खानेपानी लागि एक घर एक धारान अभियान अन्तर्गत ८० प्रतिशत काम सकिएको बताए ।‘ हामीले भौतिक पूर्वाधारको क्षेत्रमा पनि काम गरेका छौँ। मैले नेतृत्व लिदा एक घरमा पनि विद्युत् वलेको थिएन अहिले ५० प्रतिशत बढी जनता विद्युत्को पहुँचमा छन् । खानेपानी वितरणको काम अन्तिम चरणमा छ । त्यो पनि निकट भविष्यमा सकिने अवस्थामा छ ।’