काठमाडौं, १५ भाद्र। ट्राफिक प्रहरीले पछिल्लो समय यातायातसम्बन्धी नियम नमान्ने सवारी तथा सवारी चालकको हकमा सक्रियता बढाएको छ ।मादक पदार्थ सेवन गरेर सवारी चलाउने यात्रुका लागि निक्कै कडाइ गरेको ट्राफिक प्रहरीले पछिल्लो समय लेन मिच्ने र जथाभावी पार्किङ गर्नेमाथि कारबाही तीव्र बनाएको छ । कसैले लेन मिचेमा सीसी क्यामेराको सहायतामा पनि ट्राफिक प्रहरीले सवारी नम्बर पहिचान गरी कारबाही गर्ने गरेको छ ।
यसअघि भीआईपीलाई ट्राफिक प्रहरीले कारबाही नगर्ने गरेकोमा पछिल्ला दिनमा मन्त्री तथा सरकारी कर्मचारीले समेत छुट पाएका छैनन् । केही दिनअघि मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने बा२झ ४८६२ नम्बरको झन्डावाला गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको थियो । यातायातसम्बन्धी नियम बनाउने मन्त्रीकै गाडी अनधिकृत रूपमा नयाँ बानेश्वरस्थित सडक पेटीमा पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले कारबाही गरेको थियो ।
पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिरहेको मन्त्री चढ्ने गाडीमा प्रहरीले सुरुमा ह्वील लक लगाएको थियो । पछि गाडी चालक शिवराम थापाको लाइसेन्स लिएर १ हजार रुपैयाँ जरिमाना गराएर गाडीलाई छाडिएको थियो ।
यसअघि ११ असारमा अनधिकृत रूपमा पार्किङ गरिएको गृह मन्त्रालयका एक उपसचिवको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेको थियो । बा२झ ४३८८ नम्बरको गाडीमा सिंहदरबारनजिकै ट्राफिक प्रहरीले ह्वील लक गरेको थियो ।
ट्राफिक प्रहरीले यसअघि सर्वसाधारणका लागि कडाइ गरे पनि भीआईपीका लागि कडाइ गर्ने गरेको थिएन । पछिल्लो समय भने नियम उल्लंघन गर्ने मन्त्रीकै गाडी पनि कारबाहीमा पर्न थालेका हुन् ।
सडकमा मन्त्री सवार गाडीले लेन मिचेका असंख्य उदाहरण पनि भेटिने गरेका छन् । झन्डावाल गाडीलाई ट्राफिक प्रहरीले नै सर्वसाधरणका गाडीलाई रोकेर लेनविपरीत नै चल्न दिने गरेको पाइएको छ ।
राजामहाराजाको पालामा उनीहरूको सवारी हुँदा घण्टौंसम्म सर्वसाधरणलाई सडकमा रोक्ने चलन अहिले पनि हटेको छैन । देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि डा। रामवरण यादव पहिलो राष्ट्रपति बनेका थिए । उनको पालामा सवारी हुँदा सर्वसाधारणलाई बाटोमा रोकेको भन्दै चर्को आलोचना भएको थियो । अहिले पनि राष्ट्रपतिले सवारी गर्दा त्यस्तो समस्या हट्न सकेको छैन ।