पहिरोले विद्यालय बगाएपछि छहारीमा पढ्दै बालबालिका


गुल्मी, १५ भाद्र । सत्यवती गाउँपालिका ठूलोलुम्पेकस्थित सिद्ध आधारभूत विद्यालय पहिरोले बगाएपछि विद्यार्थीलाई छहारीमा राखेर पठनपाठन गराइएको छ । गत साउन ६ गतेको अविरल बर्षासँगै आएको पहिरोले सिद्ध आधारभूत प्राविको चार कोठे भवनलाई बगाएको थियो । अविरल बर्षासँगै पहिरो गएपछि लुम्पेक र लिम्घामा १३ जनाको ज्यान जानुका साथै धेरै घर र विद्यालयमा असर पु¥याएको थियो । जसकारण सिद्ध प्रा।वि।का बालबालिका छहारीमुनि बसेर पढ्न बाध्य भएका छन् । अहिले नजिकैका ठूला दुई पिपलको छहारीमा करिब ३० जना स–साना बालबालिकाले अध्ययन गरिरहेका छन् ।

पानी परे ओत्दैन, ठूलो हावा चले पनि बच्न मुस्किल हुन्छ । पहिरोले विद्यालय बगाएपछि ठूलोलुम्पेक सिङदीका बालबालिकाले त्यही स्थानमा भविष्य खोजिरहेका छन् । अर्को चार कोठे भवनको माथिल्लो तल्ला पुरिएको विद्यालयकी प्रध्यानाध्यापक ज्ञानमाया तरामुले बताइन् । विद्यालयको तलबाट पनि पहिरो गएको छ । भने खेल मैदान पहिरोले भरिएको छ । २८ साउनबाट विद्यालय सञ्चालन भएपछि विद्यार्थीको पढाइ प्रभावित नगराउने उद्देश्यले अस्थायी आवास नजिकै रूखको छहारीमा पढाइ सञ्चालन गरिएको तरामुले बताइन् । अहिले सत्यवती गाउँपालिका– ३ का पहिरोले पूर्णरूपमा प्रभावित ६१ घर परिवारलाई वडा नम्बर १ अस्लेवाको देउडाँडामा अस्थायी आवास निर्माण गरेर व्यावस्थापन गरिएको छ । सिद्ध आधारभूत प्राविमा ५१ जना विद्यार्थीले अध्ययन गर्दै आएका थिए ।

अहिले जम्मा ४० जना विद्यालय आउँछन् । पहिरोपछि १०÷१२ जना विद्यार्थी घरमा बस्नै समस्या भएपछि अभिभावकले जिल्ला बाहिर लगेर भर्ना गरेको शिक्षक दुर्गाबहादुर तरामुले बताए । त्यसमध्येका केही बिरामी परेका छन् । उनले सात जना विद्यार्थीलाई ठूलो पहिरो तरेर आउनुपर्ने जोखिम भएकाले सिङदीमै टेन्ट टाँगेर पढाइ सञ्चालन गरिएको बताए । उनीलाई विषयगत शिक्षक–शिक्षिका परिवर्तन गरेर पालैपालो पढाउने गरिएको उनले बताए । चौरमा शौचालय छैन । शैक्षिक सामग्री सबै पहिरोसँगै बगेको छ । ब्ल्याकबोर्ड पनि छैन । आकाशमा बादल देखे टेन्ट दौडने हो । बालबालिका आफंैमा पनि बिपद्को मनोवैज्ञानिक असर छ । गर्मीको समय भएकाले बिहान साँझ टेन्टमा बसेर पढ्न पनि बालबालिकालाई निकै समस्या रहेको शिक्षक टेकबहादुर सिंजालीले बताए । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष अर्जुन तरामुले आफूहरूको पहुँचमा विद्यालय पुनःर्निमाण नभएकाले बाध्य भएर अस्थायी शिविरमा पढाइ सञ्चालन गरिएको बताए । उनले अहिले बस्ती स्थानान्तरण र क्षतिको विवरण संकलनको काम मात्रै भएकाले बालबालिकाको बिचल्ली परेको उनको गुनासो छ ।

अहिले सरकारले प्रावि तहका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ । दिउँसोको समयमा विद्यालय आफंैले खाजा बनाएर बालबालिकालाई खुवाउँछु, उनले भने । उनले दिवा खाजामा हरेक बार फरक परिकार बनाएर खुवाउनुपर्ने भए पनि तत्काल त्यसको व्यवस्थापन गर्न नसकिने बताइन् । सोही विद्यालयको कक्षा ३ मा अध्ययन गर्ने गंगा र गगन विकको घरसँगै किताब कापी पनि गुमे । कक्षा ५ मा पढ्ने कल्पना सिंजाली र शैलेस विकको घर बारी नै छैन । ‘घर गए घर छैन, विद्यालय गए विद्यालय छैन,’ उनले भने, ‘अहिले पढ्नेभन्दा ज्यान जोगाउने ठूलो कुरा भएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार