
भोजपुर, १५ भाद्र।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङ पहिरोमा परि एक जनाको ज्यान गएको छ । शनिबार साँझ अलैँची गोडेर घर फर्कदा बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षिय मानबहादुर विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
फोक्टेबाट भन्ने ठाउँबाट अलैँची गोडेर घर फर्केका विष्टको पहिरोले किच्दा हात, खुट्टा र टाउकोमा चोट लागेर घाइते भएको प्रहरीको भनाई छ । दुर्गम स्थल रहेकोले दोभानेबाट स्वास्थ्यकर्मीको पठाउने तयार गर्दा गदै विष्टको घरमा पु¥याए लगतै राती ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक नरबहादुर सलामी मगरले बताए । प्रहरी नायव उपरिक्षक मगरले भने‘ शनिबार साँझ पहिरो परेर उहाँ घाइते हुनु भएको थियो, त्यो ठाउँ विकट रहेकाले दोभाने भन्ने स्थानबाट स्वास्थ्यकर्मी पठाउने तयारी गर्दा गर्दै मृत्यु भएको भन्ने जानकारी आएको छ।’
पहिरोमा परि भाग्ने क्रममा अर्जुन कार्की, धर्मराज विष्ट र प्रसाद राई सामान्य घाइते भएका छन् । मृतक विष्टको सवलाई पोष्टमार्टमको लागि संखुवासभाको खाँदबारी लगिने प्रहरीले जनाएको छ ।




















