जुम्लामा किशोरी आमाको संख्या बढ्दो


जुम्ला,१४ भाद्र । पछिल्लो समय जुम्लामा किशोरी आमाको संख्या बढ्दै गइरहेको छ । कलिलो उमेरमै विवाह गर्नुपर्छ भन्ने सामाजिक मान्यता र उमेर नपुगी गरिने विवाहका कारण बर्सेनि किशोरी आमाको संख्या बढ्दै गइरहेको हो ।

एकतर्फ बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ भने अर्कोतिर किशोरी अवस्थामा नै बच्चा जन्माउँदा आमा र बच्चा दुवैमा विभिन्न खालका स्वास्थ्य समस्या देखिने गरेका छन् । जुम्लामा करिब २७ प्रतिशत महिला किशोरी उमेरमै आमा हुने वा पहिलो बच्चा जन्माउन गर्भवती हुने गरेको पाइएको छ । किशोरी उमेरका महिलाको प्रजनन दर सहरभन्दा ग्रामीण क्षेत्रमा बढी रहेको पाइएको छ ।

बर्सेनि २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७४÷७५ अस्पतालमा सुत्केरी गराउन आउने कुल ६७४ महिलामध्ये १७९ किशोरी रहेका छन् । यस्तै, आव २०७५÷७६ मा सुत्केरीका लागि आउने कुल ६७८ महिलामध्ये १४६ जना किशोरी उमेरमा आमा बनेकी छन् । बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको संख्यामा वृद्धि भएको छ, जसका कारण आमाको ज्यान जोखिममा रहेको अस्पतालका निर्देशक धर्मराज गोसाईंले बताए । ‘कम उमेरमा विवाह गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा रहेको छ,’ उनले भने, ‘कम उमेरमा आमा बन्दा उनीहरूमा विभिन्न खालका स्वास्थ्य समस्या देखिएको छ भने अर्कोतिर यसैका कारण उनीहरू घरेलु हिंसाको सिकार हुन बाध्य भएका छन् ।’

उमेर नपुगी विवाह गरेमा किशोरी आमाको शारीरिक अपरिपक्वता र मानसिक तथा सामाजिक रूपले विक्षिप्त नै हुने गरेको भनाइ डा। पुजन रोकायाको छ । कम उमेरमा बच्चा जन्माउँदा जिल्लामा शिशु मृत्युदरसमेत बढेको छ । कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारण रहेको डा। रोकायाको भनाइ छ । परिवार नियोजनका अस्थायी साधनबारे राम्रो जानकारी नहुँदा पनि कम उमेरमै बच्चा जन्माउने गरेको पाइएको उनले बताइन् । बालविवाहको कारण अन्य पारिवारिक जिम्मेवारी बढ्ने, मानसिक तनाव बढ्ने, स्वतन्त्रताको कमी हुनेजस्ता सामाजिक बन्धनले गर्दा यस्ता किशोरीमा डिप्रेसन ९मानसिक चिन्ता० हुन सक्ने तथा किशोरावस्थामा नै गर्भवती हुनुपरेमा गर्भको जटिलता बढी हुने चिकित्सकहरू बताउँछन् ।

सामाजिक संस्कार तथा मूल्य मान्यताका कारण यसमा प्रत्यक्ष असर परेको उनी बताउँछन् । यस्तो गलत संस्कारको अन्त्यका लागि जनचेतनाको आवश्यकता रहेको महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाको भनाइ छ । कम उमेरमा विवाह हुँदा महिलाको पाठेघर खस्ने, अपांग बच्चा जन्मने, पारिवारिक बोझले शिक्षा पूरा गर्न नपाउनेजस्ता विविध कुराले वृत्ति विकासको ढोका बन्द हुने उनले बताए । उनका अनुसार बालविवाहले महिलालाई शैक्षिक रूपमा पनि निकै पछि धकेलेको छ ।
बालविवाहका कारण जुम्लामा महिलाको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था निकै कमजोर बन्दै गएको छ ।

जिल्लामा ५० प्रतिशतभन्दा बढी महिलाले किशोरी अवस्थामै विवाह गरेको महिला अधिकारवादी बताउँछन् । तर, जिल्लामा बालविवाह न्यूनीकरण लागि भने केही स्थानीय तहले अभियान नै सञ्चालन गरेका छन् । जिल्लाको सबैभन्दा बढी बालविवाह हुने गरेको पातारासी गाउँपालिकाले बालविवाहविरुद्धको अभियान नै सञ्चालन गरेको छ । बालविवाह रोक्न तथा छोराछोरीबीचको असमानता हटाउनका लागि गाउँपालिकाले अस्पतालमा छोरी जन्मे प्रोत्साहन भत्ता दिने गरेको छ । यस्तै, सिंजा क्षेत्रका स्थानीय तहरुको पनि बालविवाह विरुद्ध अभियान सञ्चालन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार