मोरङ । मोरङको पथरी शनिश्चरेस्थित जंगलमा शुक्रबार मृत भेटिएकी झापा मेचिनगर धुलाबारी घर भै हाल काठमाडौ बस्दै आएकी ५२ बर्षकी साबित्रा खतिवडाको कस्ले हत्या गरी फाल्यो भन्ने अहिले सम्म खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय पथरीेका अनुसार ति महिला गत माघ २९ गते घरबाट हिँडेकी थिइन् । घरमा मोबाइल छोडेर लुगा सिलाउनु जान्छु भन्दै घरबाट निस्केको बताइएको छ । मृतक महिलाका आफन्तहरु सम्पर्कमा आइसकेपनि उनलाई कस्ले यहाँसम्म ल्याई हत्या गर्यो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बंजगाईले बताएका छन ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पथरी बजारदेखि ३ किमी पश्चिम जंगलमा शुक्रबार ति महिलाको शव भेटिएको थियो । शुक्रबार पात टिप्न जंगल गएका स्थानीयले मोरङ्गे खोलामा ओड्नेले छापेर फालिएको अवस्थामा शव देखेका थिए । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । उता सुनसरीको रामधुनी नगरपालिका १ स्थित शिवचौकमा भएको एक वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ५ स्थित नरमाया लिम्बूको घरमा डेरा गरी बस्दै आएका संखुवासभाको मकालु गाउँपालिका ४ का स्थायी बासिन्दा पेन्टर काम गर्ने रमेश राईलाइ प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले ८७ बर्षीय नरबहादुर क्षेत्रीको हत्यामा संलग्न रमेश राईलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मृतक क्षेत्रीको माघ २८ गते मध्य रातमा उनकै घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो । क्षेत्रीको २ तले पक्की घरको पुर्ब पट्टीको आफ्नै कोठाभित्र हत्या भएको अबस्थामा शव फेला परेको थियो । घटनाबारे २९ गते बिहान करिब साढे ७ बजे प्रहरीले खबर पाएपछि छुट्टा छुट्टै ३ वटा अनुसन्धान टोली परिचालन गरेको थियो । राईको डेराबाट सामसुंग कम्पनीको २ वटा मोवाइल, ४० इञ्चको सोनी कम्पनीको एलइडि टिभि, डेल कम्पनीको कालो ब्यागसहितको ल्यापटप, लेडिज साइकल एक थान वरामद भएको प्रहरीले जनाएको छ । यस्तै, काँचको ३ थान थाल, कार्ड रिडर, सुनको सिक्री, नेपाली रुपैया २२ सय ५० पनि वरामद भएको प्रहरीले जनाएको छ ।