जनकपुरधाम । प्रदेश नम्बर २ स्थित धनुषा जिल्लामा विहेभोज खान गएकी एक बालिकाको हत्या भएको छ । उनको जिउँदै जलाएर हत्या गरिएको आंशका गरिएको छ । आधा शरीर जलेको अवस्थामा उनको शव फेला परेको हो ।
मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै विहेभोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा बिहीबार विहान १० बजे फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आधा जलेको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो । आधा जलेको अवस्थामा शव फेला परेपछि बालिकालाई बलात्कार गरी जिउँदै अथवा हत्या गरेर जलाएको हुन सक्ने स्थानीय बासिन्दाको आशंका छ । तर प्रहरीले हत्या भएपनि के, कसरी हत्या गरिएको हो भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने बताएको छ । ‘बालिकाको हत्या भएकै जस्तो देखिन्छ । शवको पोष्टमार्टमले बालिकालाई जिउँदै जलाएको हो अथवा हत्या गरेर जलाएको हो भन्ने कुरा प्रष्ट हुन्छ’ प्रहरी निरीक्षक राईले भन्नुभयो -‘किन, कसले, कसरी हत्या गरेको छ भन्ने कुरा पत्ता लगाउन हामी गरिरहेका छौं ।”