
मोरङ । मोरङको उर्लाबारी नगरपालिका – ८ स्थित भित्री सडक खण्डमा मंगलबार दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । आमबारीबाट दुर्गापुरीतर्फ आउँदै गरेको मे १ त ३८३१ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकमा पल्टिंदा ट्याक्टरका सहसचालक झापा, शिवसताक्षी नगरपालिका घर भएका १४ वर्षीय रसिकलाल हस्दाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रयाक्टरमा सवार उर्लाबारी – ८ का मोहन मुर्मु घाईते भएका छन् । उनको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । ट्रयाक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।